कमेडियन खोज्न टेलिभिजनमा कमेडी च्याम्पियन

काठमाडौं । गाईजात्रा छेको पारेर आगामी भदौबाट कान्तिपुर टेलिभिजनमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रसारण हुने भएको छ । प्रतियोगितामूलक यो कमेडी रियालिटी शोलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहिबार काठमाडौंमा पत्रकारमाझ आफू अडिसनको लागि तयार भएको बताए ।

उनले यो शो विदेशी हास्य कार्यक्रमको कुनै फ्रेन्चाइज नभएको स्पष्ट पारे । ‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्याम्पिएनको एप्स मोबाइलमा डाउनलोड गर्नुपर्नेछ । त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनेटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजकलाई पठाउनु पर्नेछ ’, उनले भने, ‘यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसनमा सहभागी हुन पाउनेछन् ।’

प्रतियोगितामा अभिनेता सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन् । अडिसनबाट चयन भएकामध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हँुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान बस्नेतले लेख्ने यो कमेडी च्याम्पियनको निर्मातामा अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।  निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मनहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यम्पड कमेडी आफुहरुले बनाउने पनि कार्यक्रममा बताईन् ।

कलाकार एवम् निर्णयक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए । अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् । अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास सो कार्यक्रममा व्यक्त गरे ।