काठमाडौं । बालबालिका सम्बन्धी सिंगापुरमा भएको ‘एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसीप फेस्तिभल २०१९’मा नेपालका दुई प्रतियोगीले उपाधि जितेका छन् । गत २६ जुन देखि १ जुलाईसम्म आयोजना भएकोे प्रतियोगितामा सहभागी नेपालका पाँच बालबालिका मध्ये २ ले उत्कृष्ट उपाधि जितेका हुन् ।
फेस्टिभलमा एशियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा नेपाली नानी कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’ शिर्ष उपाधि जितिन् । ११ वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समुहकी बिजेता हुन् । यस्तै ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मै आयोजित ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा सबैलाई उछिनेर नेपाली नानी स्टेला शाहले शिर्ष उपाधि जितिन् ।
८ वर्षीया स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समुहकी बिजेता हुन् । उनी युलेन्स स्कुलमा कक्षा ३ मा पढ्दै छिन् । नेसनल किड्स अफ इयर २०१८कै उपबिजेता तथा र्याडिएन्ट रिडर्स एकेडेमकीका कक्षा ६ की यांशु श्रेष्ठले यो प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बीच स्विम वेयर उपाधि जितिन् । नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले बेस्ट स्माईल र ९ वर्षीया सुखी प्रधानले बेस्ट पार्टी वेयरको अवार्ड पाए ।
यी पाँचै जनालाई लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९ र मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९को आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले सिँगापुर लगेको हो । दुई बालिकाको यो सफलता नेपालकै सफलता भएको इभेन्ट बेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मँगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बताए ।
बिजेताहरुले पनि आफुहरुले लामो समयको मेहनत पश्चात एशियाका अरु देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याएको पत्रकार भेटघाटमा बताए । उनीहरुलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए । अभिमन्यु शर्माले यो प्रतियोगिताको लागि व्यबस्थापन हेरेका थिए ।