कोसँग जोडिएला राजकुमारको साइनो

काठमाडौं । आगामी साउन २४ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘साइनो’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच नेपाली फिल्मकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

फिल्ममा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, श्याम राई, विशाल पहाडी, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ र नव–कलाकार राजकुमारलगायतको मुख्य अभिनय छ । नवनिर्देशक रमेश थापाको निर्देशनमा तयार भएको फिल्ममा अभिमन्यू निरवीको लेखन, रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

फिल्मलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ । यो फिल्मका कार्यकारी निर्माता शरण थापा र सह निर्माता प्रेम बहादुर थापा हुन् । ट्रेलरमा राजकुमार र मिरुनाको प्रेमका साथै अन्य सामाजिक परिस्थितीलाई देखाइएको छ । चन्द्रविनायक फिल्म्सको ब्यानरमा बनेको फिल्म बनेको हो ।

निर्माता तथा प्रस्तुतकर्ता भुवन थापा चन्दले आफ्नो कलाकारिता मर्न नदिनका लागि आफूले चलचित्र बनाएएको बताईन् । उनले फिल्म हेरेर राम्रो नराम्रो जे छ प्रतिक्रिया दिनका लागि पनि आग्रह गरिन् ।