राष्ट्रिय अवार्डमा गोपीको ह्याट्रिक

काठमाडौं । झन्डै चार वर्ष पछि चलचित्र विकास बोर्डले स्थापनाको १९ औं वार्षिकोत्सवको अवसर पारेर फिल्मकर्मीलाई राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत र सम्मानित गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०७३,२०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत र सम्मानित गरेकी हुन् ।

२०७५ का लागि ‘गोपी’बाट दीपेन्द्र लामाले ‘उत्कृष्ट लेखन’, ‘गोपी’बाटै सामिप्यराज तिमल्सिनाले पनि ‘उत्कृष्ट लेखन’, ‘समर लभ’बाट सञ्जय लामा, ‘साइँली’बाट निमेष श्रेष्ठ, ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘प्रसाद’बाट विपिन कार्की, ‘बुलबुल’बाट निर्देशक विनोद पौडेल, ‘गोपी’बाट मणि शर्मा, ‘भोर’बाट पूजा कर्ण, ‘छक्का पन्जा ३’बाट दीपकराज गिरी, ‘रिजे नासा’बाट प्रितम गुरुङ पुरस्कृत भए । कार्यक्रममा तुलसी घिमिरेलाई ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरियो ।

त्यस्तै २०७४ का लागि फिल्म ‘मंगलम’बाट सम्पादक मित्रदेव गुरुङ, ‘कृ’का लागि छाँयाकार पुरुषोत्तम प्रधान, ‘धनपति’का लागि लेखक तथा पटकथाकार खगेन्द्र लामिछाने, ‘ब्लाइन्ड रक्स’बाट अभिनेत्री बेनिशा हमाल, ‘मंगलम्’बाट अभिनेता पुष्प खड्का, ‘ब्लाइन्ड रक्स’बाट निर्देशक मिलन चाम्स, यही फिल्मले उत्कृष्ट चलचित्र, ‘टिन्छेन फामा’ले उत्कृष्ट आदिवासी चलचित्र, ‘मंगलम्’का लाथि मिथिला शर्मा, ‘शत्रु गते’का लागि रमेश रञ्जन झाले पुरस्कार पाउँदा किशोर राना मगरले ‘चलचित्र दीर्घ साधना सम्मान’ पाए ।

२०७३ का लागि फिल्म ‘जात्रा’बाट सम्पादक मित्रदेव गुरुङ, ‘लभ सासा’बाट छाँयाकार शिवराम श्रेष्ठ, ‘कालोपोथी’बाट कथा, पटकथाकार तथा लेखक मीनबहादुर भाम, यही फिल्मबाट पटकथा र संवादका लागि अविनाश विक्रम शाह, ‘निभ्न लागेको दियो’बाट नायिका सिर्जना सुब्बा, ‘जात्रा’बाट विपिन कार्की, ‘सेतो सूर्य’बाट दीपक रौनियार, ‘कालोपोथी’बाट शुन्य फिल्मस्, ‘क्यु प्ह्रो छे’ बाट मिलन डिजी र ‘छक्का पन्जा’बाट आम सरस्वती गीतादेवी फिल्मस्ले पुरस्कार पाए । बोर्डले २०७३ का लागि शुभद्रा अधिकारीलाई ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मान गरिएको थियो ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही २५ हजार नगद, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित फिल्मकर्मीहरुलाई जनही ३ लाख ५१ हजार १ सय ११ नगद, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।