‘भुवनको साइनो अर्ग्यानिक’

चितवन । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म साइनोलाई चितवनका दर्शकले मन पराएका छन् । लक्की मिडिया हाउसले चितवनमा आयोजना गरेको विशेष शो मा दर्शकले साइनो रुचाएका हुन् । उनीहरुले साइनोलाई मौलिक कथावस्तुको अर्गानिक फिल्मको संज्ञा दिए ।

कार्यक्रममा वरिष्ठ कलाकार तथा फिल्मकर्मी निर शाहको प्रमुख आतिथ्यतामा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, साइनो फिल्मकी निर्मात्री तथा नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो । विशेष शो मा फिल्म साइनोका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल लगायतका अन्य कलाकारहरु, निर्माता निर्देशकको पनि उपस्थिती थियो ।

फिल्म साइनो हेरेपछि वरिष्ठ फिल्मकर्मी निर शाहले फिल्म शुद्ध नेपालीपनको फिल्म बनेको प्रतिक्रिया दिए । उनले यस फिल्मबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको बताए । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली फिल्म हेरेको बताए । विशेष शोमा उपस्थित कलाकार तथा चितवनमा विशिष्ट व्यक्तिहरुले फिल्म साइनो राम्रो बनेको बताउँदै सफलताको कामना गरे ।

फिल्म साइनो यहि साउन २४ गतेबाट प्रदर्शन हुँदैछ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्म साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।  फिल्मलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।