झरी कुर्दै आमा निर्माण समूह

काठमाडौं । बिहिबार दिनभर फिल्म ‘आमा’को टिम कोटेश्वरमा थियो । कोटेश्वरमा बसेर दिनभर पानी कुर्दा कुर्दा पानी परेन । त्रिभुवन विमानस्थलको रन वेसम्म परेको पानी कोटेश्वर चोकमा परेन । पानी नपरेपछि दिनभर टिम सक्रिय त भयो, तर काम हुनै सकेन ।

यस्तो समस्या ‘आमा’को टिमले भोगेको पहिलो पटक होइन । कैयौ पटक पानी नपर्दा यो समस्या परेको छ । जसलेगर्दा, फिल्मको बजेट मात्र होइन काम गर्न पनि समस्या परेको छ । निर्देशक दिपेन्द्र के खनालले भने–‘पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौ । तर, पानी नपर्दा दृश्य खिच्न सकिएको छैन ।’ फिल्मको ६५ प्रतिशत काम सकिएको छ । अब, ३५ प्रतिशत दृश्यमा पानी चाहिन्छ । निर्देशकले भने–‘हामीलाई सानो पानी परेर मात्र हुँदैन । ठूलै झरी नै पर्नुपर्छ । तर, यसपटक पानी नपर्दा गाह्रो भयो । पानी पर्छ भनेर साउनमै छायांकन राखेको, झन् पानी नै परिदिएन ।’

शर्मिला पाण्डेको लगानीमा बनेको यो फिल्मको छायांकन असारको १६ गतेबाट सुरु भएको हो । तर, निर्देशकले सोचेअनुसार काम नहुँदा अप्ठ्यारो परिरहेको छ । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त आमा र छोरीको भूमिकामा छन् ।

फिल्मको रिलिज मिति फागूण ९ गतेलाई तोकिएको छ । डीएस डिजिटलको ब्यानरमा यो फिल्म बनिरहेको छ । अरु कुनै विकल्पमा पानी देखाएर फिल्म खिच्न मिल्दैन र भन्ने प्रश्नमा दिपेन्द्र भन्छन्–‘क्लोज सर्टमा त संभव होला । तर, वाइड सर्टमा त पानी नै पर्नुपर्छ ।’ दिपेन्द्रले दैनिक २ लाख भन्दा बढी खर्च भएपनि काम हुन नसकेको बताए । निर्देशक खनालले निराश हुँदै भने–‘खै म त के गरुँ गरुँ निर्णय नै गर्न सकेको छैन । अब, सबै दृश्यमा पानी चाहिन्छ । तर, मौसमले साथ दिएनँ ।’ निर्देशक खनालले ‘पशुपति प्रसाद’पछि दर्शकले अर्को मनमा छुने कथामा फिल्म हेर्न पाउने दाबी गर्दै आएका छन् ।