प्रमुख सहरमा साम्राज्ञीका अनौठा फ्यान

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसहित फिल्म ‘मारुनी’को टोली यतिबेला फिल्मको प्रमोसनका लागि मोफसल दौडाहामा छ । आगामी भदौ १३ गते रिलिज हुने फिल्ममा नवल नेपालको निर्देशन छ । फिल्म प्रमोसनको कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी छन् ।

मोफसल यात्रामा साम्राज्ञीले सोच्नै नसकेका अनौठा फ्यान भेटेकी छन् । नायिका शाह र उनको टिमले पहिलो कन्सर्ट पूर्वको इटहरी चोकमा गरेको थियो । इटहरीमा ४ बजे कन्सर्ट सुरु हुने भनिएतापनि ७ बजेमात्र साम्राज्ञी र नायक पुष्प खड्का स्टेज चढेका थिए । तर, साम्राज्ञी आएको थाहा पाएसँगै उनका सयौ बढी फ्यान उनलाई ४ बजेबाट नै पर्खिरहेका थिए । केही यूवती फ्यानहरु साम्राज्ञी बसेको होटलसम्म पुगे ।

धेरैलाई होटलमा सुरक्षागार्डले साम्राज्ञीसम्म पुग्न दिएनन् । तर, उनीहरुको साम्राज्ञीप्रतिको माया लोभलाग्दो थियो । साम्राज्ञीका केही फ्यानले उनलाई भेटेर गिफ्ट थिए । साम्राज्ञीले आफ्ना केही फ्यानको नाम नै सुनाइन् । उनी भन्छिन्–‘फ्यानको यस्तो माया पाउँदा खुशी लाग्छ । तर, फ्यानले भेट्ने वित्तिकै रुँदा भने नरमाइलो लाग्छ ।’ इटहरीमा साम्राज्ञीलाई सुरक्षागार्डले स्टेजसम्म पुर्याउन निकै संघर्ष गर्नुपर्यो । कार्यक्रम सकिएको केही समयसम्म पनि उनलाई फ्यानले कुरिरहेका थिए । चितवनको नारायणी किनारमा चलचित्रको प्रचारका लागि कन्सर्ट आयोजना गरियो । काठमाण्डौ बाहिर अत्याधिक गर्मी भएका कारण पनि दर्शक ७ बजेपछि मात्र बढी उपस्थित भएका थिए । चितवनमा पनि साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ नै भयो । स्टेजसम्म पुगेकी साम्राज्ञीसँग तस्वीर खिचाउन स्टेजमै उनका फ्यान चढेका थिए । केहीले त चलचित्रको संवाद समेत बोलेर सुनाए ।

चितवनको कन्सर्ट सकिएपछि उनलाई केही फ्यानले होटलसम्म पिछा गरे । होटलमा आएका फ्यानसँग साम्राज्ञीले तस्वीर खिचाइन् र कुराकानी गरिन् । चलचित्र ‘ड्रिम्स’बाट उदाएकी नायिकाले थोरै चलचित्रमा काम गर्दा नै एकप्रकारको क्रेज बनाएकी छिन् । चितवनपछि पोखरामा आयोजना भएको कन्सर्ट पानीका कारण स्थगित भयो । तर, साम्राज्ञीलाई नै हेर्न पुगेका सयौ फ्यानले पानीको प्रवाहा नगरि उनलाई पर्खिए । साम्राज्ञी र नायक पुष्प खड्का आउने खबरसँगै कन्सर्ट स्थलमा पुगेका फ्यानले दुबै कलाकारलाई भेट्न पाएनन् ।

कतिपय यूवतीहरु स्थानिय आयोजकसँग साम्राज्ञीलाई भेट गराइदिन आग्रह गर्दै रोएका थिए । वुटवलमा कन्सर्टको आयोजना नभएपनि स्थानिय केही कार्यक्रममा चलचित्रको टिम पुगेको थियो । उक्त कार्यक्रममा पनि साम्राज्ञीसँग तस्वीर खिचाउनेको भीड लोभलाग्दो थियो ।