धरान । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित ‘नेपाल आइस मिस पुर्वाञ्चल’को दसौ संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।
धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, बिराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका थिए । अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पुर्वाञ्चल २०१४ नेमिता आङबुहाङ लिम्बु, मिस पुर्वाञ्चल २०१६ फस्टरनर अप इक्सा मादेन, मिस पुर्वान्चल २०१७ फस्टरनर अप सिम्रन श्रेष्ठ र मिस पुर्वान्चल २०१८ फस्टरनर अप अनिला क्षेत्री रहेका थिए ।
सहभागीहरुको योग्यता, पर्फर्मेन्सअनुसार मिस पुर्वान्चल २०१९ को अन्तिम प्रतिस्पर्धाको लागि छानिने र त्यस्तै बिराटनगर, इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् ।
बराह ग्रुपको प्रस्तुति, सिजी ब्रुअरीको मुख्य प्रायोजन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजनमा तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताको विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै २ लाख नगद र अध्ययनका लागि छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा आयोजना गरिनेछ ।
त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।