यसकारण माछा माछामा रामबाबुको लगानी

काठमाडौं । नेपाली फिल्ममा रामबाबु गुरुङ कम निर्माता बढी निर्देशक हुन् । अर्थात् उनको पहिचान अहिलेसम्म निर्देशकका रुपमा नै फिल्मकर्मी र दर्शकमाझ बसेको छ । ‘कबड्डी’ सिरिजबाट चर्चामा आएका रामबाबु आगामी मंसिर २० गतेबाट रिलिज हुने फिल्म ‘माछा माछा’बाछ निर्माताका रुपमा दर्शकमाझ आउदैछन् ।

रामबाबुका अनुसार फिल्मको कथा राम्रो भएकाले उनले यसमा लगानी गरेका हुन् । ‘फिल्मको स्क्रिप्ट राम्रो छ । यसले राम्रै कथाबस्तु उठाएको छ । यस्तो कथाले दर्शकको ध्यान तान्छ भन्ने मलाई लाग्यो’, रामबाबु भन्छन्, ‘मैले कहिँ कतै बाहिरबाट पैसा ल्याएर लगानी गरेको होइन । मैले फिल्म क्षेत्रबाटै कमाएको पैसा यसमा लगानी गरेको हुँ ।’

फिल्मबाट युवा निर्देशक सुनिल गुरुङ नेपाली रजतपटमा डेब्यू गर्दैछन् । यो फिल्ममा सुनिलकै कथा छ । ‘तीन साथी भएर पनि एकअर्कालाई साथ नदिने तीन युवाको कथा फिल्ममा छ । उनीहरु सँगै काम गरे पनि एकअर्कालाई सहयोग गर्दैनन्’, सुनिल भन्छन्, ‘मेरा लागि यो फिल्म निकै महत्वपूर्ण छ । मैले अरु जनराको फिल्म बनाए पनि त्यसमा प्रशस्त प्रश्न उठ्न सक्थ्यो । त्यही भएर केही कमेडी धारको फिल्म बनाएको हो ।’फिल्ममा सौगात मल्ल, अनोज पाण्डे, विजय बराल, माओत्से गुरुङ र नम्रता श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।