लुडो र तासमा सरिताको कला

काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती र गायक रामकुमार बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘लुडो र तास’श्रोता दर्शकमाझ ल्याएका छन् । नयाँ वर्ष सन २०२० को इभ अवसर पारेर डिसेम्बर ३१ राती यो गीतको भिडियो ब्युटी न्युज नेपालको च्यानलबाट रिलिज गरिएको हो ।

यस अघि लोक पप गीत ‘मेरो जवानी’ल्याएर अवार्डसमेत जितेकी सरिताको लुडो र तास पहिलो लोक दोहोरी गीत हो । गायिका सरिता र गायक रामकुमारको यो लोक दोहोरी गीत समाजमा रहेको विकृति विसंगतिविरुद्ध तयार गरिएको हो । यो गीतमा अलिफ खानको सँगीत रहेको छ । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई सञ्चारकर्मी प्रदीप कँडेलले लेखेका हुन् ।

गीत लुडो र तासलाई यो गीतका गायक रामकुमार बस्नेतले नै निर्देशन र प्रदिप भण्डारीले मुख्य सहायक निर्देशन गरेका हुन् । जसमा टँक केसीको छायाँकन, तार्जन खड्काको सम्पादन रहेको छ । यो गीतको भिडियोमा गायिका सरिता भारती आफैं मुख्य भूमिकामा रहेकी छिन् । जसमा सरिता भारतीसहित रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ ।

मोडलिङको हिसाबले सरिता भारतीको यो पाँचौ म्युजिक भिडियो हो । यसअघि उनले मुटुमा तिमी मेरो…(आधुनिक), तिम्रो आँखामा… (आधुनिक), हे बैजु…(देउडा), शहर आएपछि…(लोक दोहोरी), मेरो जवानी…(पप आधुनिक) जस्ता गीतको भिडियोमा मोडलिङ गरिसकेकी थिईन भने अहिले आफ्नै गीत लुडो र तास…मा पनि मुख्य भूमिकामा छिन् । गायिका सरिता भारतीका अरु तीन ओटा गीतहरु तयार छन् । ती गीतहरु क्रमस रिलिज गर्दै जाने उनले बताएकी छिन् ।