काठमाडौं । नायिका रेखा थापाले होम प्रोडक्सन रेखा फिल्मस्को व्यानरमा छैटौं प्रोजेक्टको घोषणा गरेकी छन् । फिल्मको नाम फाइनल नभए पनि फिल्मका लागि नायकद्वय दयाहाङ राई र सौगात मल्ललाई फाइनल गरेकी छन् । फिल्ममा सबिर श्रेष्ठको निर्देशन रहनेछ ।
आगामी वर्षको लक्ष्मीपूजामा रिलिज हुने फिल्म चैतको अन्तिमबाट छायांकन सुरु हुनेछ । फिल्मका लागि जगदिश्वर थापाले कथा लेखिरहेका छन् । महिला केन्द्रित फिल्म बनाइरहेकी रेखाले यसपटक कस्तो कथामा फिल्म बनाउदैछिन् भन्ने केही खुलाएकी छैनन् ।
उनका अनुसार फिल्मको अन्य कलाकार तथा प्राविधिक चाडै सार्वजनिक गरिनेछ । फिल्म ‘मालिका’ पछि चुपचाप रहेकी रेखाले केही महिना अघि नयाँ प्रोजेक्टका लागि निर्देशक रेनेशा वान्तवा राईलाई अनुबन्धित गरेकी थिइन् ।