काठमाडौं । आगामी फागुन १ देखि ५ गतेसम्म राजधानीमा आयोजना हुने ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा सहभागिता जनाउन बलिउड फिल्म निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । उनी महोत्सवको प्रमुख जुरीका रुपमा नेपाल आउन लागेका हुन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा हुनेछ ।
महोत्सवका अध्यक्ष केपी पाठकले प्रकाश झासँगै यसपटक नेपाली फिल्मकर्मीका लागि डिटिजल मार्केटको सम्भाव्यता अध्ययन गर्द नेटफ्लिक्स प्रतिनिधि पनि नेपाल आउने बताए । पाठकले ज्वलन्त सामाजिक विषयबस्तुमा सशक्त फिल्म बनाउने भएकाले नेपालमा ल्याइन लागिएको बताए ।
महोत्सव अवधिभर ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय कथानक फिल्म, ३५ लघु फिल्म, ५ नेपाली कथानक फिल्म, १५ नेपाली लघु फिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म रहेका छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी फिल्मबाट उत्कृष्ट ८० चलचित्र छानिएको हो । ‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित ‘हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकामो यो वर्ष एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ । महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्लाबेग्लै पुरस्कार प्रदान गरिनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित वाग्मती अर्वाड प्रदान गरिने छ ।
महोत्सवको जुरी सदस्यमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहनेछन् । वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको जुरीको नेतृत्व श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नेछन् भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउनेछन् ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँसहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ । महोत्सवमा फिल्म प्रदर्शनसँगै समानान्तर रुपमा विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन् । यस्ता छलफल अन्तर्गत राजेश हमाल आफ्नो अभिनय यात्राका बारेमा अनुभव सुनाउने राजी भएका छन् ।