दीपिका महाभारतकी द्रौपदी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला फिल्म ‘महाभारत’को सुरसारमा छिन् । फिल्ममा उनले द्रौपदीको भूमिका निर्वाह गर्नेछिन् । यो फिल्म दीपिकाले निर्माता मधु मन्टेनासँग मिलेर बनाउन लागेकी हुन् ।

दीपिकाले फिल्म ‘महाभारत’ अन्य फिल्म जस्तो नरहेको बताएकी छन् । ‘यो प्रोजेक्ट अन्य प्रोजेक्ट जस्तो होइन । यसको पछाडि एउटा ठूलो टिम छ र त्यही फिल्मका लागि टिम अहिले मेहनत गरिरहेको छ’, उनले भनेकी छन्, ‘फिल्म घोषणा गर्नासाथ बजेटको तयारी गर्ने निर्मातामा म पर्दिनँ । यो फिल्मका लागि कति बजेट चाहिन्छ भन्ने कुराको मैले सोच विचार गरिसकेकी छु ।’

फिल्ममा अन्य कलाकारको अभिनयको टुंगो लागिसकेको छैन । फिल्मका लागि बजेट र कष्ट्युममा खर्च लाग्ने भएकाले त्यसको तयारी भइरहेको दीपिकाले जानकारी दिएकी छन् । दीपिका चाँडै नै पति रणवीर सिंहसँग फिल्म ‘८३’मा देखिँदैछिन् । फिल्म आगामी अप्रिल १० मा रिलिज हुँदैछ ।