धुलो ट्रेलरमा रिक्साले दिएको खुशी

काठमाडौं । आगामी फागुन १६ गते रिलिज हुने फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा वरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरमा रिक्सा किन्नका लागि ठेला चालकले गरेको संघर्षलाई देखाइएको छ ।

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीको अभिनय छ । फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको विशेष भूमिकामा अभिनय छ ।

निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभई यथार्थ जीवनका कथामा बुनिएको बताए । अभिनेत्री सिर्जना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउदै फिल्म राम्रो बिषयबस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा बिश्वस्त रहेको सुनाए ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।