डाक्टर बुद्धिमानको बैगुनी

काठमाडौं । कान्तिपुर डेन्टल कलेज धापासी बसुन्धराका डाइरेक्टरसमेत रहेका डा.बुद्धिमान श्रेष्ठले पहिलोपटक गीत गाएका छन् ‘बैगुनी’ । गायिका मेलिना राईसँग गाएको गीत ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कल्ले जान्यो र’ लाई डेन्टल कलेजकै हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकै पूर्व अध्यक्ष चन्द्र शर्मा लगायत गीतसँग सम्बन्धित स्रष्टाहरुले संयुक्त रुपमा गीतलाई सार्वजनिक गरिएको थिए ।

संगीतकार बादल घिमिरेको शब्द तथा संगीतमा तयार भएको लोक आधुनिक शैलीको ‘बैगुनी’ गीतमा डा.बुद्धिमान श्रेष्ठले स्वर भरेका हुन् । डा.श्रेष्ठले पहिलोपटक मेलिना राईसँग गाएको यो गीतको म्यूजिक भिडियो हेरिसकेपछि सबैले प्रशंसा गरेका थिए ।

‘मैले स्कूल पढ्दाताका कार्यक्रमहरूमा गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव थियो त्यसैले अहिले आएर गीत गाउने रहर पूरा गरेँ’, डा.श्रेष्ठले भने– ‘आजबाट गायनमा प्रवेश गरेको छु, मेरो पहिलो प्रयासलाई सबैले सुझावसहित माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’

म्युजिक भिडियोमा चर्चित कलाकार केकी अधिकारी र सागर लम्सालले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोको कोरियोग्राफर सुरेन्द्र बसेल हुन् भने सम्पादन विकास धमलाले गरेका छन् ।