लसएन्जल्स(एजेन्सी) । चीनबाट शुरु भएको कोरोना भाइरस(कोभिड–१९)को महामारी अहिले विश्वभर फैलिएको छ । यो महामारी अहिले युरोपेली मुलुकसँगै अमेरिकामा पनि तिब्र रुपमा फैलिएको छ । हरेक व्यक्तिहरु अहिले सेल्फ आइसोलेशनमा बसिरहेका छन् । हलिउड स्टार एन्जेलिना जोली पनि आफ्ना सन्तानसहित सेल्फ आइसोलेशनमा बसिरहेकी छन् ।
रोचक कुरा त के छ भने उनले आफ्ना पूर्व पति तथा अभिनेता ब्राड पिट भन्दासँग दुरी कायम गरेर आइसोलेशनमा बसिरहेकी छन् । ४४ वर्षीया अभिनेत्रीले आफ्ना पाँच सन्तानलाई पनि ब्राडसँग भेट गर्न नदिई आफैसँग राखेकी छन् । ‘मेलफिसेन्ट’ स्टार जोलीले कोभिड–१९ को स्वास्थ्य समस्याबाट बचाउनका लागि सन्तानहरु प्याक्स(१६), जहारा(१५), सिलोह(१३) र नक्स तथा भिभिने(११)लाई सँगै राखेकी छन् ।
उनको १८ वर्षे जेठो छोरा म्याडक्स केही समय अघि मात्र दक्षिण कोरियाबाट अमेरिका फर्किएका छन् । उनी सिओलको योङसेइ विश्वविद्यालयमा अध्ययनरत छन् । कोरोनाका कारण विश्वविद्यालयको पढाई रोकिए पछि कठिन समयमा आमालाई साथ दिन उनी अमेरिका फर्किएका हुन् । ‘सबै बच्चाहरु जोलीसँगै घरमा छन् । तर उनीहरु नियमित रुपमा ब्राडलाई भेट्न गइरहेका छन् । उनीहरु घरमा स्कुलको गृहकार्य, भाषा सिकाई, वाद्यवादन बजाउन, बोर्ड गेम्स र खाना पकाउन सघाउने काम गरिरहेका छन्’, जोली निकट स्रोतले भन्यो, ‘उनीहरुले अहिले परिवारलाई पूर्ण समय दिएका छन् । उनीहरु फुसर्दको समयमा फिल्म पनि हेरिरहेका छन् ।’
जोलीले बालबालिकालाई होम स्कुलिङको तयारी गरिरहे पनि म्याडक्स चाहिँ कोरियान र रसियन विषय पढिरहेका छन् । केही समय अघि मात्र १३ वर्षीया सिलोहले उनको पिता ब्राडलाई आफूलाई कोरोना भाइरसबाट जोगाउन आग्रह गरेकी थिइन् । उनी ५६ वर्षे ओस्कार अवार्ड विजेता ब्राडसँग लकडाउन समय बिताउन चाहिन्छन् । ब्राड र जोलीले सन् २०१६ मा अलग्गिने निर्णय लिएका थिए । तर अदालतले अहिले पनि उनीहरुको डिभोर्सको मुद्दालाई टुंग्याएको छैन ।