लसएन्जल्स(एजेन्सी) । चर्चित गीत ‘आइ लभ रक एन रोल’का गायक तथा रचनाकार एलन मेरिलको कोरोना भाइरसका कारण निधन भएको छ । ६९ वर्षे गायककी छोरी लौराले केही हप्ता अघि स्वस्थ्य आफ्ना पिताको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएकी छन् ।
गीत ‘आइ लभ रक एन रोल’ सन् १९८२ मा विश्वव्यापी हिट गीत हो । यो गीतलाई ब्रिटनी स्पेयर्सदेखि वाइर्ड अल यान्कोभिकले पनि गाएका थिए । गत वर्षको क्रिशमसमा यो गीतको प्यारोडी भर्सन ‘आइ लभ ससेज रोल्स’ सार्वजनिक भएको थियो ।
एलनको जन्म न्यूयोर्कमा भएको थियो । उनले ‘द लिड’ नामक व्याण्डमा पहिलोपटक लिड गायकका रुपमा करियर शूरु गरेका थिए । यो व्याण्ड जापानमा निकै चर्चित व्याण्ड हो । जापानमा रहँदा दुई सफल सोलो एल्बम निकालेका एलनले टेलिभिजन शोको सञ्चालनसँगै ओपेरमा अभिनय पनि गरेका थिए । ‘द एरोज’ समूहको स्थापनाका लागि उनले सन् १९७४ मा जापान छोडे र यूके आए । यो व्याण्डले ग्ल्याम रक र क्लासिक मेलोडिज गीत श्रोतामाझ ल्याएको थियो ।
यो समूहले ‘ए टज टु मच’, ‘माइ लास्ट नाइट विथ यू’ र ‘आइ लभ रक एन रोल’ जस्ता गीत श्रोतामाझ ल्यायो । ‘आइ लभ रक एन रोल’ गीत एलन र समूहका गितारिष्ट जेक हुकरले मिलेर लेखेका थिए । सन् १९७५ मा निस्किएको यो गीतले तत्कालिन व्याण्ड रोलिङ स्टोनलाई घुँडा टेकाउने विश्वास लिइएको थियो ।