टेलिभिजनमा पुनरागमन गर्दै सीआइडी

मुम्बई(एजेन्सी) । कोरोनाका कारण टेलिभिजन शोको सुटिङ रोकिएको छ । यस्तो अवस्थामा निर्माताले पुराना हिट शोलाई पुनः प्रसारण गरिरहेका छन् । रामायण–महाभारतका लागि सास बहु शो पनि पुनः प्रसारण गरिन लागिएको छ । अब यो अवस्थामा अर्को एक हिट शो दर्शकमाझ पुनः आउने भएको छ ।

सबैको प्रिय क्राइम बेस्ड शो सीआइडी टेलिभिजनमा कमव्याक गर्दैछ । सीआइडी पहिलोको जस्तै सोनी इन्टरटेनमेन्ट च्यानलमा पुनः प्रसारण हुनेछ । यो शो दर्शकमाझ निकै हिट भएको थियो । यसमा शिवाजी सतमले एसीपी प्रद्युमनको भूमिका निर्वाह गरेका थिए । उनको मुद्धा समाधान गर्ने शैलीले आम दर्शकमाझ प्रभावित बनाएको थियो । यो शो टीआरपी रेटिङमा नियमित छाइरहेको थियो ।

शोको पुनः प्रसारण हुने समाचारले शिवाजी निकै खुशी छन् । ‘आम मानिस पुनः सीआइडी हेर्न पाइरहेका छन् भन्ने खबरले म खुशी छु । यो शो २२ वर्ष चल्यो । हाम्रो कथासँग मानिसहरु जोडिएका थिए । आज म जहाँ पनि पुग्छु, मानिसहरु मलाई एसीपीकै नजरले हेर्छन् । यो मेरा लागि निकै राम्रो अनुभव हो । हामी ठूलो परिवार भयौं । शोमा धेरै अभिनेता आए र गए । सीआइडीलाई फेरी बचाउनु खुशीको कुरा हुनेछ’, उनले भनेका छन् ।

शोमा आदित्य श्रीवास्तव र दयानन्द शेट्टी प्रमुख भूमिकामा थिए । सीआइडीको १ हजार ५ सय ४७ भाग प्रसारण भएको थियो । यसको प्रिमियर २१ जनवरी १९९८ मा भएको थियो । यो भारतको सबैभन्दा लामो टेलिभिजन सिरिज हो । यसको अन्तिम प्रसारण २०१८ को २७ अक्टोबरमा भएको थियो । यसका निर्देशक बीपी सिंह हुन् ।