अमेजनका आदिवासीमा कोरोना त्रास

रियो द जेनेरियो(एजेन्सी) । ब्राजिलमा कोरोना भाइरसका कारण हालसम्म ४ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ ११ हजार २ सय ८७ संक्रमित छन् । शुरुमा यो महामारीको केन्द्र साउ पाउलोको औद्योगिक राज्य थियो । अहिले यो देशैभर फैलिएको छ । जसमा अमेजन जंगलको इलाका पनि पर्दछ । ब्राजिलको आदिवासीमा कोरोना भाइरसको पहिलो संक्रमण अमेजन इलाकामा नै पाइएको थियो ।

फेडरेशन अफ साओ पाउलोको सोधकर्ता डा.सोफिया मेन्डोन्काले आदिवासी समुदायमा पनि कोरोना भाइरस पुगेकाले त्यसले अझ विकराल रुप लिन सक्ने हो कि भन्ने डर शुरु भएको बताइन् । सन् १९६० को दशकमा भेनेजुएलाको सीमामा बस्दै आएका यानोमामी समुदायमा खसरे नामक रोगको प्रकोपले ९ प्रतिशत जनसंख्याको निधन भएको थियो । यस्तै सम्भावना नदोहोरियोस् भन्नका लागि केही समुदायले आफूलाई साना–साना समूह निर्माण गरेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण नसकिएसम्म जंगलमै बस्ने निर्णय लिएका छन् ।

जंगलमा बस्दै आएका समुदायसँग संक्रमणबाट बच्नका लागि कम सामाग्री छ । उनीहरुको पास न त हेण्ड सेनिटाइजर नै छ न त साबुन । कुनै बेला अमेजनमा महामारी फैलियो भने त्यहाँको सबै आदिवासीमा असर पर्नेमा स्वास्थ्यकर्मीहरु चिन्तित छन् । त्यस्तो भएमा त्यहाँ लाखौं आदिवासीको निधन हुनेछ ।

आदिवासी समुदायका मानिसहरु खानेकुरादेखि लिएर भाडाकुडा पनि साझा गर्दछन् । अहिलेको अवस्थामा यस्ता कामले पनि आदिवासी समुदायमाझ कोरोना भाइरस सर्ने सम्भावना अझ बढेर गएको छ ।