योगाले दियो कोरोनाबाट मुक्ति

मुम्बई(एजेन्सी) । मान्छेमा इच्छाशक्ति भयो भने जुनसुकै परिस्थितिमा उसले विजय प्राप्त गर्छ । कठित समयमा दृढशक्तिले जिन्दगीलाई सजिलो र सम्भव बनाइदिन्छ । यसकै एक उदाहरण बनेका छन् भारतको नोएडास्थित सेक्टर ७४ सुपरटेक केपटाउन निवासी ४२ वर्षे सौरभ गुप्ता । जसले चिकित्सकको सल्लाह र योगाका कारण कोरोना भाइरसलाई परास्त गरी १२ दिनमा घर फर्किएका छन् ।

सैलून सञ्चालक सौरभ १८ फेब्रुअरीदेखि ८ मार्चसम्म पत्नीका साथ इस्तान्बुल, लण्डन, पेरिस, रोम र स्वीटजरल्याण्डको यात्रा गरेर ९ मार्चमा भारत फर्किएका थिए । घर फर्किएको दुई तीनदिनमा स्वास्थय बिग्रिएपछि उनी क्वारेन्टाइनमा बसे । क्वारेन्टाइन पछि पनि स्वास्थ्य राम्रो नभएपछि उनी जिम्स पुगेर स्वास्थ्य जाँच गराएर अस्पताल भर्ना भए । १७ मार्चमा उनको पत्नीको रिपोर्ट नेगेटिभ र उनको पोजेटिभ आयो । आइसोलेशन वार्डको चिकित्सकको सल्लाह अनुसार उनले नियमित औषधि लिए र योगासन शुरु गरे ।

‘मलाई यस्तो लागेको कि औषधिले शारीरिक शक्ति दिइरहेको थियो भने योगले मानसिक शक्ति बढाइरहेको थियो । योगले सास लिने क्षमता बढायो र कोरोनाको डर पनि मनबाट हरायो’, उनले भने,‘परिवारबाट टाढा हुनुको पीडा कस्तो हुन्छ भन्ने अनुभव मैले आइसोलेशनमा वार्डमा थाहा पाएँ । परिवारको स्वास्थ्य अवस्थाबाट म खुशी थिएँ । तर सन्तानबाट टाढा हुँदा नरमाइलो लाग्दो रहेछ । मैले परिवार हेर्नका लागि ह्वाट्सएपमा भिडियो कलिङको सहारा लिएँ । एक्लोपन हटाउनका लागि मोबाइल नै बाटो थियो ।’

उनले योगले आफ्नो काममा जाँगर बढेको बताए । उनले योग र चिकित्सीय जाँचले परिवारको जिन्दगी बचाउने दाबी गरे । उनले योगमा कपालभाति, सूर्य नमस्कार र अनुलोम–विलोम गरेको खुलाए ।