बिल र मोनिकाको यौनकाण्ड सार्वजनिक गर्ने ट्रिपको निधन

वासिङटन(एजेन्सी) । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीको सम्बन्धको खुलासा गर्ने अमेरिकी सिभिल सर्वेन्ट लिन्डा ट्रिपको निधन भएको छ । ७० वर्षीया ट्रिपको अग्नाशय क्यान्सरका कारण निधन भएको हो ।

ट्रिपले लेविन्स्कीसँग गरेको कुराकानीको रेकर्डिङ सन् १९९८ मा क्लिन्टनमाथि लागेको महाभियोगको प्रमाण बनेको थियो । ट्रिपले विशेष अभियोजक केनेथ स्टारका माझ यो टेप प्रस्तुत गरेकी थिइन् ।

समाचार अनुसार पेन्टागनको पूर्व सरकारी कर्मचारी ट्रिपले आफू भन्दा २४ वर्ष कान्छी लेविन्स्कीसँग दोस्तीयारी बनाएकी थिइन् । त्यही समयमा लेविन्स्कीको राष्ट्रपतिसँग यौन सम्बन्ध रहेको थाहा पाएकी थिइन् ।

यो यौनकाण्डपछि सन् १९९८ मा रिपब्लिकनको नेतृत्वले प्रतिनिधि सभामा क्लिटनमाथि महाभियोग लगाएको थियो । उक्त महाभियोगमा क्लिनले आफूमाथि झुठो आरोप लागेको बताएका थिए । ट्रिपलाई सन् २००१ मा क्लिन्टन प्रशासनले पेन्टागनको जागिरबाट निकाली दिएको थियो ।