युट्युबमा डा. सुमनको पलेँटी शृङ्खला

काठमाडौं । संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समयअघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग सार्वजनिक भएको छ । कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरी हरेक हप्ता धारावाहिक रुपमा पलेटीँको च्यानलमा उपलब्ध हुने भएको छ ।

डा. सुमन पेशाले नेत्र विशेषज्ञ हुन् । नेपालयले गत अक्टोबरमा डा. सुमन थापाको पेसा र ‘प्यासन’लाई ध्यानमा राखेर पलेँटी डिजाइन गरेको थियो । यस शृंखलामा डा. सुमनले गाएका धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् । प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् । शृङ्खलाको आरम्भमा सुमनकै संगीतका दुई गीत पनि समेटिएका छन् जसमा गीतकार रत्न शमशेर थापाको रचना पनि रहेको छ ।

‘गीत गाएर पलेँटीको मञ्चमा गाउन पुग्छु भन्ने कुरा त मैले सोचेकै थिइन । त्यसमा पनि एक्कैसाथ यतिधेरै नेपाली गीत गाउछु भन्ने त झन् सोचेकै थिइन । तर पलेँटीले गर्दा श्रवणजी र आभासजीसँग रचनात्मक संगत गर्न पाएँ । यो क्षण मेरो सांगीतिक जीवनकै महत्वपूर्ण मोड हो । त्यो मोडको मजा युट्युबमार्फत् आम प्रशंसक माझ बाड्न पाउँदा एकदमै खुसी लागेको छ।’डा. सुमनले भने ।

प्राय पश्चिमी शैलीमा अँग्रेजी गीत गाउन रुचाउने डा. सुमन, पलेँटीमा भने नेपाली गीत लिएर उपस्थित छन् । प्रायजसो सामुन्ने रहेको आँखा जाच्ने यन्त्र ‘स्लिट ल्याम्प’मा तिलगंगा र क्लिनिकमा देखिने डा. सुमन पलेँटीको भिडियोमा भने आफ्नो मनपर्ने बाजा गिटारका साथ देखिने छन् ।