मुम्बई(एजेन्सी) । बलिउडमा पुराना हिट फिल्मको रिमेक गर्ने चलन लामो समयदेखि चल्दै आएको छ । यसै परिप्रेक्ष्यमा पुरानो एक आइकोनिक फिल्मको रिमेक हुने भएको छ । अभिनेता अमिताभ बच्चनको सुपरहिट फिल्म ‘शहंशाह’को रिमेक भर्सनको तयारी शुरु भइसकेको छ । यो फिल्मको संवाद ‘रिश्ते मे हम तुम्हारे बाप लगते है, नाम है शहंशाह’ आज पनि उत्तिकै लोकप्रिय छ ।
सन् १९९८ मा रिलिज यो फिल्ममा अमिताभ शीर्ष भूमिकामा थिए । उनलाई यो भूमिकामा दर्शकले यति रुचाएकी कि उनलाई बलिउडको शहंशाह भनेर नै बोलाउन थालियो । यो फिल्मको रिमेकमा रणवीर सिंहले अभिनय गर्ने समाचार बाहिर आएको छ । रणवीरले यो भूमिकामा न्याय गर्ने भएर नै उनलाई छनोट गरिएको समाचारमा जनाइएको छ ।
ओरिजिनल शहंशाहका निर्देशक टीनू आनन्दले एक अन्तरवार्तामा फिल्मको रिमेकको तयारी भइरहेको संकेत गरेका थिए । उनले रिमेक भर्सनको फिल्मको निर्देशन पनि आफैं गर्ने जानकारी दिएका थिए । तर अहिले कोरोना भाइरसको संक्रमणले रिमेकको काम रोकिएको छ । कोरोना महामारी साम्य भएसँगै फिल्मको तयारी हुनेछ । आफूसँग फिल्मको राइट लिन आउने मान्छे भए पनि आफैंले बनाउने सोच राखेको खुलाए ।
हालसम्म यसका निर्माताले फिल्मको आधिकारिक घोषणा गरेका छैनन् । ओरिजिनल ‘शहंशाह’मा अमिताभसँगै मीनाक्षी शेषाद्री र अमरीश पुरीले प्रमुख भूमिकामा अभिनय गरेका थिए ।