सीताको अपहरण हेर्दा रावण भावुक

मुम्बई(एजेन्सी) । गुजराती अभिनेता अरविन्द त्रिवेदीले रामानन्द सागरको धार्मिक टेलिफिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गरेर भारतमा लोकप्रियता हासिल गरेका थिए । यिनै अरविन्द हाल भारतीय टेलिभिजनमा प्रसारण भइरहेको ‘रामायण’ हेरेर भावुक बनेका छन् ।

सामाजिक सन्जालमा भाइरल एक भिडियोमा ८० को उमेरमा हिँड्दै गरेका त्रिवेदी सीता अपहरणको दृश्य हेरेर भावुक भएका हुन् । भिडियोको अन्त्यमा उनले हात जोडेका छन् । आफूले सितालाई अपहरण गरेको हेरेर उनी भावुक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

देशभर चलेको २१ दिने लकडाउनका कारण लोकप्रिय पौराणिक टेलिसिरियल ‘रामायण’ यतिबेला दुरदर्शनमा प्रसारण भइरहेको छ । यसको पहिलो प्रसारण सन् १९८७–१९८८ को बीचमा भएको थियो । यसको सिर्जना, लेखन र निर्देशन रामानन्द सागरले गरेका थिए ।