लकडाउनमा अनलाइनबाटै विवाह

दुबई(एजेन्सी) । लकडाउनको समयमा धेरै मानिसहरु घरमै बन्दाबन्दी अवस्थामा छन् । यस्तो अवस्थामा कैयौं विवाह र जन्मदिनका कार्यक्रम पनि सरिरहेका छन् । बेङ्क्वेट हल, रेस्टुरेन्ट जस्ता स्थानको बुकिङ रद्द छ ।

यही बीचमा केही व्यक्तिहरु सामाजिक सन्जालका माध्यमबाट इन्गेजमेन्ट गरिरहेका छन् । यूएईमा लकडाउनका बीचमा अनलाइन विवाह सेवा सुरु भएको छ ।साइटमा गएर दुवै पक्षका पुजारीका साथ भिडियो लिंकबाट विवाहको तारिख चयन गर्छन् । यो प्रक्रियामा पुजारी, जोडी र साक्षीको पहिचान पुष्टि गरिन्छ र त्यो विवाहलाई कानूनी बनाउनका लागि एक विशेष अदाललाई विवाहको प्रमाणपत्र पठाइन्छ । जोडीलाई एसएमएसका माध्यमबाट विवाहको प्रमाणपत्रको पुष्टि प्राप्त हुन्छ ।

यसअघि दुबईमा लकडाउनका समयमा विवाह र सम्बन्धविच्छेदमा रोक लगाइएको थियो । अब यो समस्याबाट छुट्कारा पाउन स्थानीय सरकारले अनलाइन विवाहको प्रक्रिया शुरु गरेको हो ।

यूएईको न्याय मन्त्रालयले दुई दिन अघि विवाहका लागि कागजी काम गर्न र मन्जुरी लिन अनलाइन सुविधा दिएको जनाएको थियो । यूएईमा कोरोना भाइरस महामारी फैलनबाट रोक्नका लागि कडा नियम लागू गरेको छ । ठाउँ ठाउँमा चेकिङ पनि राखिएको छ ।