जन्मदिन पार्टीमा कोरोना संक्रमण फैलिएपछि…

रियो दी जेनेरियो(एजेन्सी) । ब्राजिलको एक परिवारले गरेको जन्मदिनको पार्टी परिवारकै लागि घातक बनेको छ । पार्टीमा सहभागी तीन व्यक्तिको मृत्यु भएको छ भने १० जनालाई कोरोना संक्रमण भेटिएको छ । यो जन्मदिनको पार्टीको दुई हप्ता भित्र पार्टीमा सहभागी कैयौं बिरामी भएका थिए । पार्टीमा सहभागी अधिकांशलाई अहिले कोरोनासँग मिल्ने शंकास्पद लक्षण देखिएको छ ।

ब्राजिलको साओ पाउलोमा एक जन्मदिनको पार्टीमा सहभागी २८ मानिसमध्ये तीनजनाको मृत्यु भइसकेको छ । मृतकहरु एकै परिवारका सदस्य हुन् । प्रशासनले एक व्यक्तिको मात्र निधन कोरोनाले भएको बताएको छ । समाचार अनुसार १३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरा इलाकामा यो पार्टी भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यो दिनसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ९८ पुगिसकेको थियो । त्यो बेला कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि हुन सकेको थिएन । ब्राजिलमा कोरोना संक्रमणको करिब ६० प्रतिशत मामला साओ पाउलोमा पाइएको छ । दुई करोड बढी जनसंख्या भएको यो सहर विश्वकै सबैभन्दा सघन आवादी भएको सहरमा पर्दछ ।

यो घटनाको करिब तीन हप्ता पछि ८ अप्रिलसम्म ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजारको आँकडा पार गरेको थियो र करिब ८ सय जनाले भाइरसका कारण ज्यान गुमाइसकेका थिए । उक्त पार्टी वेरा लूसिया परेराले दिएकी थिइन् । उनलाई ब्राजिलसम्म कोरोना भाइरसको महामारी पुगिसकेको पनि थाहा थियो । उनले आफ्नो ५९ औं जन्मदिनको पार्टी रद्ध गर्ने योजना पनि बनाएकी थिइन् । ‘हाम्रो मनमा शंका थियो । तर हामीले पार्टी नै गर्ने योजना बनाइसकेका थियौं । तबसम्म देशमा कुनै किसिमको लकडाउन पनि लागू भइसकेको थिएन’, उनले भनेकी छन् ।

वेराको जन्मदिनको पार्टी उनको घरको बार्दलीमा आयोजना गरेकी थिइन् । जहाँ परिवारका २८ जना मानिस भेला भएका थिए । यो पार्टीमा वेराका पति पाउलो विएरा र उनका भाइबहिनी पनि सहभागी थिए । तर यो पार्टी पछि कोरोना संक्रमणले पाउलो, भाइ क्लोविस र बहिनी मारियाको निधन भयो । पार्टीमा लुसियाकी बहिनी, लुसिया र पाउलोका भतिजभतिजा पनि सहभागी थिए । पार्टीको केही समयपछि नै आधा सहभागीलाई रुघाखोकी, ज्वरो र श्वास लिन समस्या हुने लक्षण देखिन थाल्यो । यो सबै लक्षण कोरोना भाइरसको संक्रमण देखिएपछि हुन्छ । वेराका पति पाउलो र उनका भाइ तथा बहिनीको मृत्यु लक्षण देखिएको हप्तादिन भित्रै भएको थियो ।