लकडाउनमा यसरी घटाउनुहोस् शरीरको तौल

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालसहित विश्वका अधिकांश देशमा लकडाउन छ । यस्तो अवस्थामा ती देशका नागरिकहरु घरमा नै बन्दी जीवन बिताइरहेका छन् । कोरोना संक्रमणले उनीहरुलाई घरबाहिर निस्कन पनि खतराको अवस्था छ । घरमै बसिरहँदा धेरै मानिसहरुको शरीरको तौल बढिरहेको छ । शरीरको तौल बढेको बेला शारीरिक अभ्यासका अलावा अन्य तरिकाले पनि तौल घटाउन सकिन्छ ।

बिहान उठ्नासाथ एक लिटर पानी पिउनुहोस् । तपाईंका लागि पहिलो दिन निकै गाह्रो होला, तर प्रयास गर्दा अवश्य सफल भइन्छ । त्यसपछि तपाईं जहाँ बस्नुहुन्छ, त्यहाँ बस्दा कमसेकम दुई लिटर पानी लिएर बस्नुहोस् । तपाईंले पानीमा कागती, पुदिना र हिमालियन नून मिसाउन सक्नुहुन्छ । नास्ता दिनको सबैभन्दा अहम र जरुरी खानेकुरा हो । त्यो नास्ता पोषक तत्वले भरपुर हुनुपर्छ । नास्तामा ड्राइफुट्स अनिवार्य चाहिन्छ । तपाईंहरु नास्ता समयमै गर्नुहोस्, जसले गर्दा खाना पनि समयमा नै खान सजिलो हुन्छ ।

नास्ता होस् या खाना, जहिल्यै पेटभर खाने नगर्नुहोस् । पेटभर खानुभयो भने तपाईंलाई खाना पचाउन समस्या हुनसक्छ । त्यसकारण त्यति नै खानुहोस्, जति आवश्यक पर्छ । खाना खाँदा जंकफुडबाट टाढै रहनुहोस् । तपाईं बेलुकाको खाना कि त ७ बजेभन्दा अघि नै खानुहोस्, नत्र नखानुहोस् । बेलुकाको खानेकुरा खिचडी जस्तो खानुहोस्, जुन पेटमा हल्का रुपमा रहन्छ । लकडाउनको समयमा तपाईंलाई व्यायाम गर्न गाह्रो परिरहेको होला । यस्तो अवस्थामा तपाईं घरमा ५ सय पटक दौडन सक्नुहुन्छ । अथवा सिडीमा तलमाथि गर्न सक्नुहुन्छ । तपाईंको शरीरलाई गतिविधिको आवश्यकता पर्दछ ।

स्वस्थ शरीर बनाउन र फिट रहनका लागि डाइट चार्ट बनाउन आवश्यक छ । तपाईं के खाँदै हुनुहुन्छ, कति व्यायाम गर्नुहुन्छ, यी सबै बारेमा लेख्नुहोस् र हरेक दिन यसलाई लागु गर्ने प्रयास गर्नुहोस् । लकडाउनका कारण तपाईं घरमै बन्द हुनुहुन्छ । यो अवस्थामा घरायसी काम पनि गरिरहनुभएको छ होला । जुन काम फिट रहनका लागि राम्रो हो । तपाईं फोनमा कुराकानी गर्दै हुनुहन्छ भने पनि हिँडेर कुरा गर्नुहोस् । दिनमा कमसेकम १० हजार पाइला चाल्नुहोला । तौल घटाउनका लागि सुत्नु मात्र महत्वपूर्ण होइन, राम्रोसँग निन्द्रा लगाउनु पनि अझ महत्वपूर्ण हो । निन्द्रा पुरा नहुँदा तपाईंको तौल बढेको हुन्छ र पुरा दिन बेचैन रहन्छ ।

–एजेन्सीको सहयोगमा