गरिबलाई खाद्यान्नसँगै मदिरा

नैरोबी(एजेन्सी) । विश्वभरका वैज्ञानिकले कोरोना भाइरसको उपचारको सूत्र अझैसम्म पाएका छैनन् । उनीहरु सय वर्ष पुरानो औषधि बीसीजी र प्लाज्मा थेरापीबाट उपचार गर्ने पद्दति खोजिरहेका छन् । यहीबेला अफ्रिकी देश केन्याका गभर्नरले मदिराको प्रयोगले कोरोना भाइरसलाई हराउन सकिने भन्दै आफ्ना राज्यका गरिब व्यक्तिहरुलाई खाद्य सामाग्रीका साथमा मदिराको बोतल पनि बाँडिरहेका छन् । जबकी विश्व स्वास्थ्य संगठनले मदिराले कोरोना भाइरसलाई हटाउने भन्ने दाबीको खारेज गरेको छ ।

नैरोबीका गभर्नर माइक सोंकोको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । जसमा उनी ‘हामी कोरोना भाइरस महामारीका बीच सहरका गरिब परिवारलाई खाद्य सामाग्री बाढिरहेका छौं । जसमा हेनेसी(मदिराको एक प्रकार)को सानो बोतल पनि दिएका छौं । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठन र दोस्रो स्वास्थ्य संगठनको अध्ययनले पनि कोरोना भाइरस वा अन्य प्रकारका भाइरस समाप्त पार्न मदिराको अहम भूमिका हुन्छ’ भनी बोलेका छन् ।