मुम्बई(एजेन्सी) । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधनोम घेब्रेयेससले हलिउड तथा बलिउड स्टारहरु आबद्ध भएको भर्चुअल कन्सर्ट ‘वन वलर्डः टूगेदर एट होम’मा सहभागिता जनाएकोमा बलिउड अभिनेता शाहरुख खानलाई धन्यवाद दिएका छन् । घेब्रेयेससले ट्वीटरमा ‘डब्लु डब्लूएचओका साथ एकता देखाउनका लागि शाहरुख खानलाई धन्यवाद । हामी एकसाथ आएर विश्वलाई सुरक्षित बनाउन सक्छौं ।’ भन्दै ट्वीट गरेका छन् ।
कन्सर्टका समयमा शाहरुख खानले दर्शकलाई घरमै बसेर जोखिम उठाएर काम गरिरहेका व्यक्तिको समर्थन गर्न आग्रह गरेका थिए । गत अप्रिल १५ मा शाहरुखले कन्सर्टमा सहभागिता जनाउने विषयमा ट्वीटरमा ‘कोभिड १९ सँग लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हाम्रो सहयोगको जरुरी छ । यही कारण म यो कार्यक्रमको समर्थन गरिरहेको छु । कोरोना भाइरससँग युद्ध लडिरहेका योद्धाहरुलाई धन्यवाद व्यक्त गर्न र उनीहरुको लागि फन्ड जुटाउनका लागि यो कार्यक्रममा सहभागी हुँदैछु’ भनेर ट्वीट गरेका थिए ।
यो कार्यक्रममा १ हजार २ सय ७९ मिलियन डलर रकम जुटेको थियो । दुई घण्टाको यो शोलाई विश्वका अलग अलग च्यानलमा प्रसारण गरिएको थियो । टेलिभिजनमा देखाइएको यो कार्यक्रमको सम्पूर्ण रकम डब्लुएचओको कोभिड १९ सोलिडेटरी रेस्पोन्स फन्डमा जम्मा हुनेछ । ‘वन वल्र्डः टूगेदर एट होम’ कन्सर्टको आयोजना ग्लोबल सिटीजन मूभमेन्ट र डब्लुएचओले पप गायिका लेडी गागाको सहयोगबाट गरेको हो । कार्यक्रममा बीटल्स व्याण्डका संस्थापक सदस्यमध्येका एक पल मेककर्टनी, टेलर स्वीफ्टसमेत गरी सयौं कलाकारले आफ्नो लिभिङ रुमबाट प्रस्तुति दिएका थिए ।
यो कार्यक्रम दुई भागमा प्रस्तुत गरिएको थियो । ६ घण्टाको प्री शो सामाजिक सन्जालमा स्ट्रिम गरिएको थियो । त्यसपछि दुई घण्टाको कार्यक्रम टेलिभिजनमा प्रसारण गरिएको थियो । भारतबाट शाहरुख खान र प्रियंका चोपडा सहभागी थिए ।