‘मलाई प्रहरीले पक्राउ गरेको छैन’

मुम्बई(एजेन्सी) । कोरोना भाइरस भारतका अलग–अलग राज्यमा आफ्नो पकड बनाइरहेको छ । भाइरस फैलन सक्ने डरले गरिएको लकडाउनका कारण मानिसहरु घरमै बन्धक जीवन बिताइरहेका छन् । यस्तो अवस्थामा मानिसहरुका विभिन्न अफवाह फैलिइरहेका छन् । यस्तै अफवाहको शिकार यतिबेला अभिनेता विक्की कौशल बनेका छन् । उनले लकडाउनको उल्लंघन गरेको आरोप खेपिरहेका छन् । आफू माथि लागेको आरोपलाई चिर्न उनले ट्वीटरमा स्पष्टीकरण नै दिएका छन् ।

‘केही मानिसहरु अफवाहको पछाडि दौडिइरहेका छन् । जसमा मैले लकडाउन उल्लंघन गरेर प्रहरीले पक्रिएको भनिएको छ । म यो कुरा भन्न चाहन्छु कि जबदेखि देशमा लकडाउन शुरु भयो, म आफ्नो घरबाट बाहिर निस्किएको छैन । मलाई प्रहरीले पक्राउ गरेको छैन । हल्लाको पछाडि नलाग्न अनुरोध गर्दछु’, विक्कीले ट्वीट गरेका छन् ।

विक्की बसेको भवनमा एक व्यक्तिमा कोरोना पोजेटिभको खबर आएको थियो । जसकारण विक्की बस्दै आएको ओबेरोय स्प्रींग्सको केही भाग सिल गरिएको थियो । यो भवनमा चित्रांगदा सिंह, राजकुमार राव, पत्रलेखा, राहुल देव, मुग्धा गोडसे, कृष्णा अभिषेक, कश्मीरा शाह, नील नितिन मुकेश, निर्देशक आनन्द एल राय, विपुल शाह, प्रभु देवा, फिल्ममेकर–कोरियोग्राफर अहमद खान, अर्जन बाजवा, टीवी अभिनेत्री चाहत खन्ना बस्दै आएका छन् ।