मुम्बई(एजेन्सी) । एक समय भारतको टेलिभिजन शो र बलिउड फिल्म पाकिस्तानमा निकै मनपराइन्थ्यो । जबकी पछिल्लो समयमा भने पाकिस्तानमा भारतीय फिल्मलाई प्रतिबन्ध लगाइएको छ । तर त्यहाँका दर्शकमा भारतीय फिल्मप्रति यति मोह छ कि उनीहरु पाइरेटेड कपीका माध्यमबाट पनि फिल्म हेर्छन् ।
पाकिस्तानका मानिसहरुले भारतीय फिल्म मनपराउने भएपनि त्यहाँका प्रधानमनत्री इमरान खान चाहिँ भारतीय फिल्मलाई अश्लिल मान्छन् । हालैका दिनमा रमजानको महिनामा पाकिस्तानको सरकारी च्यानल पीटीभीमा टर्कीको सिरियल ‘दिरिलिः एर्तुगरल’ शुरु गरिएको छ । यो सिरियलको तारिफ गर्दै इमरानले हलिउड तथा बलिउड जस्ता तेस्रो पार्टीको कार्यक्रमको सट्टा टर्कीको सिरियल जस्तो कार्यक्रमले युवाहरु इस्लामिक इतिहास, मूल्य र संस्कृतिको बारेमा सिक्ने बताएका थिए । ‘हलिउड र बलिउडले विदेशी संस्कृतिलाई प्राथमिकता दिन्छन् । बलिउडले पश्चिमी जगतको फलो गरेको छ । जसले गर्दा ती फिल्म र शोमा अश्लिलता देखिन्छन् ।’ उनले भनेका छन् ।
इमरानले आफूलाई केही दशकअघि सम्म भारतीय फिल्म राम्रै लाग्ने गरेको बताएका छन् । ‘यस्तो अश्लीलताले हाम्रो युवापुस्तामा नराम्रो असर परिरहेको छ । जसकारण उनीहरु सेक्स क्राइमको बाटोमा अगाडि बढिरहेका छन् ।’ उनले भनेका छन् ।
इमरान पाकिस्तानको प्रधानमन्त्री बनेपछि भारतीय फिल्मप्रति हेर्ने नजर फेरिएको छ । तर उनी क्रिकेटर रहँदा उनी बलिउडको फ्यान मात्र थिएनन्, उनको बलिउडका फिल्मी हस्तीसँग राम्रो सम्बन्ध थियो ।