ट्रम्पलाई छैन खाना खाने फुर्सद

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसको सबैभन्दा ठूलो गढ बनेको अमेरिकामा यो महामारीबाट हालसम्म झन्डै ५५ हजार बढी मानिसको मृत्यु भइसकेको छ । यो महामारीबाट करिब १० लाख अमेरिकी संक्रमित छन् । अमेरिकामा सबैभन्दा खराब अवस्था न्यूयोर्क राज्यमा छ । न्यूयोर्कमा कोरोना भाइरसबाट मर्नेको संख्या १२ हजार ६७ पुगेको छ । यो महासंकटबाट बाहिर निस्कनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिनरात नभनी काममा व्यस्त छन् । उनले कैयौं पटक खाना खान पनि बिर्सिएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार कोरोना संकटलाई मध्यनजर गर्दै ट्रम्पको सम्पूर्ण समय तालिका भरीभराउ छ । यसभन्दा अघि ट्रम्पलाई टेलिभिजन हेरेर खाना खाँदै बाहिर निस्कने गरेको आरोप लागेको थियो । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्प अहिले हरेक समय काम गरिरहेको बताएका छन् ।  व्हाइट हाउसका अनुसार ट्रम्प प्रतिदिन कोरोना महामारीलाई लिएर करिब ६० फोन कल गर्छन् । ह्वाउट हाउसका चिफ अफ स्टाफ मार्क मेअडोसले राष्ट्रपतिलाई कसरी चाँडो भन्दा चाँडो खाजा खुवाउने भन्ने प्रमुख चिन्ता भएको बताए । ट्रम्पको फोन गर्ने कार्य बिहान ६ बजेर ३० मिनेटबाट शुरु हुन्छ ।

मेअडोसका अनुसार हालैमात्र राष्ट्रपति ट्रम्पले उनलाई रातको ३ बजेर १९ मिनेट जाँदा फोन गरेका थिए । आफू सुतिरहेको समयमा यती राति फोन आउँछ भन्ने नसोचेको उनले बताए । ट्रम्पलाई अहिले खानका लागि पनि फुर्सद छैन । ‘पछिल्लो ५ सातादेखि मैले उनलाई १० मिनेट पनि फुर्सदमा देखिनँ । ट्रम्पलाई खाना खाएको अहिलेको समयमा देखेका छैनौं । उनलाई कहिलेकाँही त खाना खानका लागि १० मिनेटको मात्र समय निस्कन्छ’, उनले भनेका छन् ।

ट्रम्पलाई टेलिभिजन हेर्ने र हेमबर्ग खाने गरेको आरोप पहिल्यैदेखि लागेको हो । उनलै मात्र ट्वीटरमा ‘म बिहानै उठ्छु र रातीसम्म काम गर्छु’ भन्दै त्यसको प्रष्टीकरण दिएका थिए । कोरोना भाइरसको संकटलाई मध्यनजर गर्दै ट्रम्पले आफूलाई ह्वाइट हाउसमै सीमित गरेका छन् । उनी जहिल्यै प्रेस ब्रिफिङ गर्छन् । उनको कार्यस्थलमा टेलिभिजन च्यानल छ । कामको समयमा उनी आफूलाई मनपर्ने कोक पिउन बिर्सदैनन् । इस्टरको दिन विश्व बिदा मनाइरहँदा ट्रम्प रुस र साउदी अरबमा तेलको वार्ता गरिरहेका थिए । एक अधिकारीले ट्रम्पको ध्यान काममा मात्र गइरहेको समयमा पनि मिडियामा उनीबारे नकारात्मक कभरेज आएको देख्दा आफूहरु निराश हुने गरेको बताए ।