म्याडोनाको शरीरमा एन्टीबडी पोजेटिभ

लसएन्जल्स(एजेन्सी) । कोरोना भाइरसको कहर झेलिरहेको समयमा विश्वका लागि एउटा सुखद खबर आएको छ । यो खबर हलिउडकी पप गायिका तथा मोडल म्याडोनाले ल्याएकी हुन् । हालैमात्र म्याडोनाले आफ्नो इन्स्टाग्राममा आफ्नो शरीरमा कोरोना भाइरसको एन्टीबडी रहेको जानकारी दिएकी छन् । म्याडोनाको कोभिड–१९ एन्टीबडी टेस्ट पोजेटिभ पाइएको छ ।

म्याडोनाले क्वारेन्टाइन डायरीको १४ औं भागमा यो खबर सार्वजनिक गरेकी हुन् । उनले यो घोषणासँगै भिडियोमा अन्य कुरा पनि बताएकी छन् । उनी कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुनका लागि लामो समयदेखि सेल्फ क्वारेन्टाइनमा छिन् । ‘मैले टेस्ट गराएँ र ममा एन्टीबडी रहेको पत्ता लगाएँ । त्यसकारण भोलि म कारमा लामो यात्रामा निस्कँदैछु । म गाडीको झ्याललाई तल झार्छु र कोभिड १९ को हावामा सास लिनेछु । मलाई आशा छ कि सूर्य पनि खुशी हुनेछ’, उनले लेखेकी छन् ।

सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिवेन्सन(सीडीसी) अमेरिकाका अनुसार एन्टीबडी परीक्षणका माध्यमबाट कोही व्यक्ति कोभिड १९ को सम्पर्कमा छ या छैन भन्ने थाहा हुने जनाएको छ । यो परीक्षण शरीरमा भाइरससँग लड्नेका लागि प्रोटिन पत्ता लगाएर गरिन्छ । तर एन्टीबडी, इम्यूनिटीको बराबर मानिन्छ कि मानिन्दैन भन्ने कुराको कुनै पुष्टि हुन सकेको छैन ।

हलिउडमा कोरोना भाइरसका कारण हालसम्म अभिनेता ब्रायन डेन्हे, हिलेरी हिथ, जोन प्रायन, एडम स्लेजिन्जर, एन्ड्रयूको निधन भइसकेको छ । त्यस्तै टम हेङ्कस, उनकी श्रीमति विल्सन, क्रिटोफर हिब्जू जस्ता सेलिब्रेटीले कोरोनालाई हराएर स्वास्थ्य लाभ गरेका छन् ।