लकडाउनले घट्यो कण्डमको बिक्री

बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण विश्वको करिब आधा जनसंख्या लकडाउनका कारण घरमै बस्न बाध्य छन् । यो महासंकटमा विश्वभरका मानिसहरुको रोजगारी पनि गुमेको छ । लाखौं उद्योग बन्द छन् । लकडाउनको संकटमा कण्डम निर्माण कम्पनी पनि परेको छ । सामाजिक सन्जालमा कोरोना लकडाउनले कण्डमको विक्री बढेको दाबी गरिए पनि कण्डम निर्माताहरु यो दावीलाई झुटो मान्छन् ।

करिब महिना दिन अघि विश्वभरमा कोरोना लकडाउनका कारण कण्डमको बजारबाट हराएको खबर सार्वजनिक भएको थियो । त्यो समयमा विश्वकै सबैभन्दा ठूलो कण्डम निर्माता कम्पनी कारेक्स बीएचडीले कोरोना भाइरसको प्रसार रोक्नका लागि गरिएको लकडाउनका कारण कण्डमको उत्पादन ठप्प भएको बताएको थियो । कारेक्सले मलेसियास्थित आफ्नो तीन कम्पनीमा कण्डम निर्माणको काम रोक्नु परेको जनाएको थियो । विश्वका हरेक पाँचवटा कण्डम कारेक्स वीएचडीले नै बनाएको छ ।

ब्रिटेनको कण्डम निर्माता कम्पनी ड्युरेक्सले विश्वभरको लकडाउनको कडा नियमका कारण कण्डमको विक्रीमा ठूलो गिरावट आएको जनाएको छ । विश्वभरका मानिसहरु आइसोलेसनमा रहेको र यौन कार्यलाई वेवास्ता गरेका कारण कण्डमको प्रयोग घटेको ड्युरेक्सको भनाइ छ । ड्युरेक्सको सहयोगी कम्पनी रेकिट बेनक्सिरका सीइओ लक्ष्मण नरसिंहनले कण्डमको बिक्रीमा ठूलो कमी आएको बताए । ‘मानिसहरु नियमपूर्वक सामाजिक दुरीको पालना गरिरहेका छन् । त्यसकारण यौन सम्बन्ध बनाउन उनीहरु बचिरहेका छन्’, उनले भनेका छन् ।

नरसिंहनले यूरोपमा कोरोनाको दोस्रो ठूलो गढ इटलीमा मानिसहरु सामाजिक दुरीमा बसेका कारण कण्डम बिक्रीमा ठूलो गिरावट आएको बताए । ‘लकडाउनको कडा नियमका कारण इटली र ब्रिटेनमा क्याजुअल सेक्सलाई वेवास्ता गरियो । यी दुई देशमा आफ्नो घर भन्दा बाहिर गएर अर्को घरको मानिसलाई भेट्नुलाई लकडाउन उल्लंघन मानियो । ब्रिटेनमा लकडाउन घोषणा हुनु अघि युवाहरु बढी यौन कार्यमा संलग्न थिए,’ उनले भनेका छन् ।