राधेको ओटीटी मूल्य २ सय ५० करोड

मुम्बई(एजेन्सी) । यसै वर्षको इदमा रिलिज हुने तयारीमा रहेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’लाई लिएर नयाँ खबर आएको छ । कोरोना भाइरस(कोभिड–१९)का कारण पुरै उद्योग बन्द भएर सुटिङ रोकिएपछि यो फिल्मलाई ओटीटी(इन्टरनेट) प्लेटफर्ममार्फत रिलिज गर्ने योजनामा निर्माण पक्ष रहेको छ । ओटीटीमा रिलिजका लागि निर्माताले २ सय ५० करोडको माग गरेका छन् । यो विषयलाई लिएर सलमानका व्यापारिक मेनेजरले पनि केही कुरा बोलेका छन् ।

कोरोनाका कारण अन्य उद्योगजस्तै फिल्म उद्योग पनि ठप्प भएपछि कैयौं प्रोडक्सन हाउसहरुले आफ्ना फिल्मलाई ओटीटीको माध्यमबाट रिलिज गर्ने योजना बनाइरहेका छन् । यही मेसोमा सलमानको फिल्म ‘राधे’ पनि जोडिएको छ । इदको मौका पारेर फ्यानलाई फिल्म उपहार दिने सोच बनाएक सलमानले त्यो अवस्था नआउने सम्भावना देखेपछि यसलाई ओटीटीमार्फत रिलिज गर्ने योजनामा छन् । फिल्मका निर्माताले पनि यो विषयलाई सकारात्मक रुपले हेरेका छन् ।

तर सलमानका व्यापारिक मेनेजर जोर्डी पटेलले सञ्चारमाध्यममा आएको खबरलाई गलत भनेका छन् । उनले आफूहरुले ओटीटीमा फिल्म रिलिज गर्ने विषयमा सोच बनाइरहेको स्वीकारे । पटेलले ओटीटीको लागतका बारेमा अहिले बोल्नु हतारो हुने भन्दै फिल्मको सम्पूर्ण सुटिङ सकिएपछि यो विषयमा निर्णय गरिने बताए ।