आमालाई छोराले जिउदै गाडेपछि…

बेइजिङ(एजेन्सी) । चीनको शाङ्क्सी प्रान्तको जिंगबियान काउन्टीमा एक व्यक्तिले आफ्नो आमालाई एक खाली चिहानमा गाडेका छन् । तर आसपासका मानिसहरुले यो कुराको जानकारी पाएपछि उनलाई चिहानबाट निकालिएको छ । जिउँदै रहेकी महिला निकै डराएकी छन् । यो घटनापछि आमालाई गाड्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार अनुसार ती महिला आंशिक रुपबाट पक्षघात पीडित थिइन् । बिरामी आमाको सेवा गरिरहेका छोरा आमाको उपचारमा दिग्दारी मानिरहेका थिए । यो दिग्दारीपनलाई निवारण गर्न आफूले आमालाई गाडेको उनले प्रहरीसमक्ष बताएका छन् ।

ती व्यक्तिकी श्रीमतिका अनुसार ती व्यक्ति आमालाई एक ठेलागाडामा बसाएर मे २ मा घरबाट लगेका थिए । घरबाट लगेको तीन दिनपछि पनि आमा फर्केर नआएपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

महिलालाई बचाउने स्थानीयका अनुसार ती महिलालाई चिहानबाट निकाल्नासाथ डराएर चिच्याएकी थिइन् । ती महिलाको उमेर ७९ वर्ष र छोराको ५८ वर्ष छ ।