विदेशी डिजाइनको नक्कल रोक्दै चीन

बेइजिङ(एजेन्सी) । इङ्लिस टाउन होस् या अल्पाइन गाउँ या एफिल टावर, चीनमा चारैतिर यस्तै देखिने विदेशी भवनका नक्कलहरु देख्न सकिन्छ । तर अब चीनको सरकारले विदेशी डिजाइनको नक्कलको स्थानमा देशी डिजाइनवाला भवनहरु बनाउन काममा प्राथमिकता दिने भएको छ । सरकारले सार्वजनिक भवन निर्माणमा नक्कल नउतारिने प्रष्ट पारेको छ । ‘भवनहरु सहरको नयाँ संस्कृति देखाउने किसिमको हुनेछ र ठूला र विशाल डिजाइनवाला भवनलाई सीमित गर्नुपर्ने अवस्था आएको छ’, सरकारले भनेको छ । बहुतले गगनचुम्बनी भवनका लागि निर्देशिका जारी गरिएको छ । जसअनुसार भवनको अधिकतम उचाई ५ सय मिटरसम्म हुनुपर्नेछ ।

चीनको सरकारी मिडियासँग जोडिएको वेभसाइट ग्लोबल टाइम्सका अनुसार चीनका कैयौं तेस्रो र चौथो दर्जाका शहरमा विदेशी भवनको नक्कल गरी बनाइएका भवन गुणस्तरहिन छन् । सरकारले हाल रहेको विदेशी भवनको नक्कललाई के गर्ने भन्ने केही बताएको छैन । सरकारले गत २७ अप्रिलमा यो घोषणा गरेको थियो तर यसको समाचार यसै हप्तामात्र सार्वजनिक भयो । सरकारले स्टेडियम, प्रदर्शनी केन्द्र, संग्राहलय र थिएटरजस्ता स्थानलाई नक्कली भवनभन्दा अलग राख्न आव्हान गरेको छ ।

‘शहरको बनावट शहरको बाहिरी छवि र उसको आन्तरिक सुन्दरतासँग जोडिएको हुन्छ । यसले सहरको संस्कृति प्रदर्शन गर्छ’, सरकारले भनेको छ, ‘आफ्नो संस्कृतिमा विश्वासलाई मजबुत बनाउन र सहरमा उपलब्ध सुविधाहरुलाई उजागर गर्नका लागि आर्टिकेक्टरको नयाँ युगको शुरुवात भएको छ । सरकारको यो निर्णयको चिनियाँ सामाजिक सन्जालमा तिब्र रुपमा स्वागत गरिएको छ ।  सन् २०१३ मा बीबीसीको एक समूहले टेम्स टाउनको भ्रमण गरेको थियो । जो संघाईको सोग्जियाङमा इङ्लिस टाउनको नक्कलमा बनाइएको थियो । यो सहरमा विस्टन चर्चिलको एक प्रतिमासमेत छ । यो विवाहको तस्बिर खिच्नका लागि पनि एक लोकप्रिय स्थान हो ।

चीन एक्लो देश होइन, जहाँ अर्को देशको भवन वा कलाको नक्कल डिजाइन गरेर राखिएको छ । योबाहेक अन्य देशमा पनि यस्तै अवस्था छ । अमेरिकाको लसभेगासमा एफिल टावरको नक्कल छ । यही वेनेटीअन क्यानलको पनि नक्कल बनाइएको छ । थाइल्याण्डमा पनि इतालवी डिजाइनको गाउँको नक्कल गरिएको छ र घरेलू पर्यटकलाई मध्यनजर गर्दै इङ्लिस गाउँ पनि बनाइएको छ ।