कोरोना महामारीले सुत्न सकिनन् मनिषा

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले बुधबार ट्वीट गर्दै आफूलाई कोरोना भाइरस(कोभिड–१९)को महामारीले निद्राको ढाँचा परिवर्तन गरेको बताएकी छन् । उनले महामारीका कारण आधा रातमा नै ब्युँझने गरेको जनाएकी हुन् ।

‘यो महामारीले मेरो निद्राको ढाँचा परिवर्तन भएको छ । अब आधा रातमा नै उठ्ने गरेकी छु । एउटा सानो बच्चा जस्तै सुत्नका लागि तयार हुन सकेको छैन’, उनले ट्वीट गरेकी छन् । उनको पोस्टमा प्रतिक्रिया दिँदै केही प्रयोगकर्ताले उनलाई सुझाव पनि दिएका छन् ।

एक प्रयोगकर्ताले मनिषाको पोस्टले आफूले आमालाई सम्झाएको उल्लेख गरेका छन् । उनले आफू ढिलो उठ्नकै लागि हरेक दिन आमालाई ढाट्ने गरेको खुलाएका छन् । मनिषाले पनि ती प्रयोगकर्तालाई जवाफ फर्काउँदै आफू ढिलो उठ्दा आमाबाट गाली खाने गरेको उल्लेख गरेकी छन् ।

अर्का प्रयोगकर्ताले मनिषालाई कतै उनी केटो डाइटमा त नरहेको भनी सोधेका छन् । जुन प्रश्नलाई मनिषाले अस्वीकार गरेकी छन् । कैयौं प्रयोगकर्ताले मनिषाको भनाईमा सहमति जनाउँदै आफूहरुको निद्रा पनि महामारीले हराएको बताएका छन् ।