काठमाडौं । जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवस मनाउदै आएको चलचित्र पत्रकार संघले यो वर्षको कार्यक्रमलाई स्थगित गरेको छ । कोरना भाइरस जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस बर्ष संघले सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगीत गर्ने निर्णय गरेको हो ।
संघका महासचिव समीर बलामीले एक विज्ञप्ती जारी गर्दै अर्को बर्ष पुरस्कार रकममा बढोत्तरीका साथमा मोफसलबाट थप एकजनालाई समेत मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय गरेको जनाएका छन् । यो दिवसको दिन दुईजना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट संघले सम्मान गर्दै आइरहेको छ ।
‘यसपाली चलचित्र पत्रकारिता दिवस अर्थात जेठमा डिजिटल प्लेटफर्ममार्फत संघको २१ औं बार्षिक उत्सव मनाउने र शुभकामना आदान–प्रदान गर्ने निर्णय समेत संघले गरेको छ । उक्त प्लेटफर्ममा जोडिन संघ सम्पूर्ण सदस्यहरुमा हार्दिक अपिल गर्दछ । संघ कोरना संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।