मुम्बई(एजेन्सी) । लकडाउनका बीच बलिउड अभिनेत्री सोनम कपुर पति आनन्द आहूजका साथ घरमा समय बिताइरहेकी छन् । सोनम अहिले दिल्लीमा कुकिङ, बेकिङका साथ घरका कैयौं काममा व्यस्त छिन् । हालैको एक अन्तरवार्तामा उनले पति आनन्दका बारेमा केही रमाइला कुराकानी गरेकी छन् ।
सोनमले पतिसँगको सम्बन्धका बारेमा बताएकी छन् । ‘म आनन्दलाई गौतम बुद्ध भनेर बोलाउँछु । उसको विवाह मसँग नभएको भए, ऊ निश्चय नै जंगल गएर साधु बन्थ्यो’, उनले भनेकी छन्, ‘ऊ राम्रो मानिस हो र ऊसँग विवाह गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्दछु । ऊ सोझो छ, तर पनि कहिलेकाँही रिसाउँछ । ऊ जहिल्यै नियम फलो गर्न चाहन्छ, चाहे एयरपोर्टमा लाइन नै लाग्ने कुरामा किन नहोस् । कुनै पनि सेवाका लागि पैसा तिरे पनि त्यसको फाइदा उठाउने उसको चाहना छैन ।’
लकडाउन अघि सोनम आनन्दसँग लण्डनमा थिइन् । लण्डनबाट भारत फर्किएपछि उनीहरुले आफूलाई घरकै क्वारेन्टाइनमा राखे । उनले केही समय अघि दिल्लीको घरको तस्बिर सामाजिक सन्जालमा राखेकी थिइन् । कामको कुरा गर्दा सोनम अभिनेता सलमान खानका साथ ‘द जोया फ्याक्टर’मा देखिएकी थिइन् । उनले कुनै प्रोजेक्टको घोषणा गरेकी छ्रैनन् । तर खबर अनुसार उनी करिनाका साथ ‘वीरे दी वेडिङ’को सिक्वेलमा आउने तयारीमा छिन् ।