पाकिस्तानको आवासीय बस्तीमा विमान दुर्घटना

इस्लामावाद(एजेन्सी) । पाकिस्तानको व्यापारिक राजधानीमा कराँचीमा एक यात्रुबाहक विमान दुर्घटना भएको छ । पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआइएको यो विमान कराँची एयरपोर्टमा अवतरण गर्न लाग्दा दुर्घटनामा परेको हो । विमान लाहोरबाट आएको थियो । फ्लाइट पीके८३०३ नम्बरको प्लेनमा ९१ यात्रु र ८ चालकदल सदस्य थिए । कराँचीको जिनाह इन्टरनेशनल एयरपोर्ट नजिकै रहेको मोडल कोलोनी आवासीय वस्ती क्षेत्रमा विमान दुर्घटना भएको हो ।

पाकिस्तानी सेनाले आफ्नो आकस्मिक उद्दार टोली घटनास्थलमा पुगिसकेको जानकारी दिएको छ । के कारणले विमान दुर्घटना भयो भन्ने केही निश्चित भएको छैन । पीआइएका कार्यकारी प्रमुख एयर भाइस मार्सल अरसद मलिकले पाइलटले विमानमा केही प्राविधिक समस्या आएको जानकारी ट्राफिक कन्ट्रोललाई दिएको बताएका छन् ।

कोरोना भाइरसको लकडाउन पछि पाकिस्तानी सरकारले व्यावसायिक उडानको अनुमति खुला गरेको भोलिपल्ट यो दुर्घटना भएको हो । पाकिस्तानभर रमदान उत्सव मनाउने तयारी भइरहँदा यो विमानमा त्यो उत्सव मनाउन घर फर्किएका यात्रुहरु हुनसक्ने अनुमान गरिएको छ ।