फिल्ममा रेखासँग किन देखिँदैनन् आमिर ?

मुम्बई(एजेन्सी) । आफ्नो लामो करियरमा आमिर खानले बलिउडकी सुन्दर अभिनेत्री रेखासँग कुनै पनि फिल्ममा स्क्रिन शेयर गरेका छैनन् । समाचार अनुसार मिस्टर परफेक्शनिस्ट आमिरले धेरै अगाडि नै रेखासँग काम नगर्ने निर्णय लिएका थिए ।

दशकौं लामो करियरमा आमिरले कैयौं कलाकारसँग सहकार्य गरेका छन् । उनले कैयौं नवप्रतिभालाई आफ्नो फिल्मको हिस्सा बनाएका छन् । तर सुन्दरी अभिनेत्री रेखासँग आमिर कुनै पनि फिल्ममा नदेखिनुको पछाडि एउटा निकै पुरानो घटना छ । जुन घटना आमिरको पिताको सेटमा भएको थियो ।

समाचार अनुसार रेखाको काम प्रतिको रवैया आमिरलाई मनपरेको थिएन । आमिरको सेटमा रेखाको व्यवहार देखेर उनी धेरै प्रभावित हुन सकेनन् । यही कारण पनि आमिरले कहिल्यै पनि रेखासँग सहकार्य गर्न चाहेनन् । त्यसो त रेखा पनि आफ्नो समयको सुपरस्टार नै हुन् । ८० र ९० को दशकमा फिल्मकर्मी तथा दर्शकहरु उनको अभिनयसँगै सुन्दरताबाट प्रभावित थिए । आफ्नो शानदार अभिनय र सुन्दरताका कारण उनले फिल्म उद्योगमा ठूलो नाम कमाएकी थिइन् । तर पनि मिस्टर परफेक्शनिस्टले रेखाको साथ फिल्म शेयर गरेनन् ।

रेखा आमिरका पिता ताहिर हुसेनका साथ फिल्म ‘लकेट’मा काम गरिरहेकी थिइन् । त्यो समयमा आमिरले रेखाको व्यवहार र रवैयालाई गहिरो अध्ययन गरेका थिए । फिल्मको सेटमा आमिरलाई रेखाको काम गर्ने शैली र उनको ढिलाई प्रति दिक्क मानेका थिए । जसकारण फिल्मको दृश्यलाई पुनः सुट गर्नुपरेको थियो ।

यही कारण आमिरले जिन्दगीभर रेखासँग फिल्म नगर्ने प्रण लिए । ‘लकेट’लाई ताहिर हुसेनले निर्माण गरेका थिए । भनिन्छ, रेखा आफ्नो फिल्म प्रति समर्पित थिइनन् । जबकी आमिर खान यो मामलामा फरक छन् । तर अहिले सार्वजनिक कार्यक्रममा रेखा र आमिर भेट भए पनि उनीहरु जहिल्यै सौहार्दपूर्ण व्यवहार गर्दछन् ।