को बन्ला फिल्मी लालूप्रसाद यादव ?

मुम्बई(एजेन्सी) । यदि राजनीतिक नेता लालूप्रसाद यादवका विषयमा फिल्म निर्माण गरियो भने बलिउडका कुन कलाकारले शीर्ष भूमिकामा अभिनय गर्न पाउलान् । यो आम चासोको विषय हो । यी चर्चित नेताले बिहीबार आफ्नो जन्मदिन मनाएका छन् । धेरैले यिनको नाम सम्झँदा उनको भाषण गर्ने शैली र भ्रष्टाचारलाई सम्झन्छन् । कलेजमा पढ्दाताका लालूले राजनीति शुरु गरेका हुन् । उनले बिहारका सबै चुनाव जिते तर उनको नाममा घोटाला श्रृंखला शुरु भएपछि उनी बद्नाम भए ।

त्यसो त लालूको नाममा फिल्म ‘पद्मश्री लालू प्रसाद यादव’ बनिसकेको छ । यो फिल्ममा सुनील शेट्टी, महेश मांजरेकर र जोनी लीवर जस्ता कलाकारको अभिनय छ । जुन फिल्म बक्सअफिसमा सुपर फ्लप साबित भयो । भारतीय सञ्चारमाध्यमले केही कलाकारको नाम लिँदै लालूको बायोपिकमा उपयुक्र्त हुने उल्लेख गरेका छन् । जसअनुसार उनीहरुको पहिलो रोजाईमा संजय मिश्रा छन् । सन्जयले जहिल्यै पनि आफ्नो अभिनयबाट उनी जुनसुकै भूमिकामा पनि फिट छन् भन्ने प्रमाणित गरिसकेका छन् । यस्तो अवस्थामा उनले लालू प्रसाद यादवको भूमिका निभाए भने त्यसलाई न्याय दिनसक्छन् भन्ने फिल्मी पण्डितहरुको बुझाई छ । उनको लुक्स पनि केही हदसम्म लालूसँग मेल खान्छ ।

अर्का अभिनेतामा परेश रावल रोजाईमा परेका छन् । परेश कमेडी, ड्रामा, एक्सन, डान्स सबै गर्नसक्ने कलाकार हुन् । किनकी लालूको जिन्दगी पनि यी सबै कुराले मिश्रित छ । परेशको कमिक टाइमिङ र ह्यूमर यति उत्कृष्ट छ कि उनको त्यो विशेषता हरेक चरित्रका लागि उपयुक्र्त छ । उनी लालूको शैलीमा बोल्न पनि सक्छन् । मनोज बाजपेयी पनि लालूको चरित्र निभाउन सक्ने अर्का कलाकार हुन् । किनकी उनको भित्र सबै किसिमका चरित्र निभाउने क्षमता छ । जुन कुरा स्क्रिनमा कन्भिन्सिङ र रियालिष्टिक लाग्छ । मनोज आफैंमा बिहारका हुन्, जसकारण उनको उच्चारण पनि दर्शकका लागि विश्वसनीय लाग्न सक्छ ।

त्यस्तै पंकज त्रिपाठी पनि विभिन्न किसिमका भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार हुन् । उनको बोलीचाली र रंगढंगले पनि लालूको चरित्रमा उनी फिट रहनसक्छन् । उनी भूमिकामा शतप्रतिशत दिन्छन् । यस्तो अवस्थामा उनलाई राजनीतिक चरित्रमा देखिनु फ्यानका लागि कम ट्रिटको कुरा हुँदैन । अभिनेता राजकुमार राव भित्र पनि लालूको भूमिका निभाउने सबै गुण छन् । उनको कमिक टाइमिङ राम्रो छ र उनी सजिलै बिहारी उच्चारण गर्न सक्छन् । लालूको शुरुवाती जीवनलाई उनले सजिलै न्याय दिन सक्छन् ।