गुलाबो सिताबो हेर्नुपर्ने पाँच कारण

मुम्बई(एजेन्सी) । सुजित सरकारको फिल्म ‘गुलाबो सिताबो’ यही शुक्रबारबाट अमेजन प्राइममा रिलिज हुँदैछ । फिल्म थिएटरमा रिलिज हुने तयारीमा थिए, तर कोरोना भाइरसका कारण फिल्म अब ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो । यो फिल्मप्रति दर्शकको निकै चासो छ । भारतीय सञ्चारमाध्यमले यो फिल्म हेर्नुपर्ने पाँच कारण दिएका छन् ।

उनीहरुले पहिलो कारणका रुपमा यूनिक कास्टिङलाई मानेका छन् । फिल्ममा अमिताभ बच्चन, आयुष्मान खुराना, विजय राज, ब्रिजेन्द्र कालाजस्ता कलाकार छन् । फिल्मको कास्टिङ निकै सोचेर र सम्झेर गरिएको छ । जुन कुरा ट्रेलरमा नै झल्किएको छ । ट्रेलरमा सबै पात्रको क्यामेष्ट्री मिलेको छ । फिल्ममा अमिताभ र आयुष्मान भएकाले पनि दर्शकले फिल्म हेर्नै पर्नेमा जोड दिइएको छ ।

दोस्रो कारण अमिताभ बच्चन र आयुष्मान खुरानाको नोंकझोंकलाई मानिएको छ । अमिताभ आफैंमा शताब्दीकै महानायक हुन् । जो ७७ वर्षको उमेरमा पनि लगातार काम गरिरहेका छन् । उनको कामलाई दर्शकले उत्तिकै मनपराइरहेका छन् । आयुष्मानले फिल्म ‘अन्धाधुन’का लागि नेशनल अवार्ड जितेका छन् । युवा पुस्तामा आयुष्मानको क्रेज अत्याधिक छ । उनको ‘बाला’, ‘बधाई हो’, ‘शुभ मंगल ज्यादा सावधान’ र ‘ड्रीम गर्ल’ जस्ता फिल्मलाई दर्शकले निकै रुचाए । यस्तो अवस्थामा स्क्रिनमा अमिताभ र आयुष्मानको नोंकझोंकले एक नयाँ जादु सिर्जना गर्नेमा फिल्मकर्मी र दर्शक आशावादी छन् ।

फिल्मलाई सुजित सरकारले निर्देशन गरेका हुन् । उनले यसअघि ‘पीकू’, ‘विक्की डोनर’, ‘अक्टूबर’, ‘मद्रास क्याफे’, ‘पिंक’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । उनको फिल्मले ठिकठाकको व्यापार गरे पनि समीक्षात्मक हिसाबले राम्रो प्रतिक्रिया पाइरहेका छन् । फिल्मको स्टोरीलाइन जूही चतुर्वेदीले लेखेका हुन् । उनले यसअघि लेखेको फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । भाडामा बस्ने मानिस र घरबेटीबीचको नोंकझोंकलाई फिल्ममा देखाइएको छ । अमेजन प्राइमको पहुँच विश्वव्यापी छ । फ्यानहरु सजिलै कम पैसाले फिल्मको पहिलो दिनको पहिलो शो हेर्न सक्छन् ।