मुम्बई(एजेन्सी) । गुगल म्यापको प्रयोग आजकल सबैले गर्छन् । कैयौं पटक बाटो बिर्सने व्यक्तिहरुले गुगल म्यापकै सहाराले आफ्नो गन्तव्य भेट्टाउछन् । यो म्यापमा एक व्यक्तिको स्वरले तपार्ईंलाई गन्तव्यमा पुर्याउन सहयोग गरिरहेको छ । अब चाँडै यो स्वरलाई हटाएर बलिउड बीग बी अमिताभ बच्चनको स्वर सुनिँदैछ । गुगलले यो विषयमा अमिताभसँग कुराकानी गरिरहेको छ ।
समाचार अनुसार अमिताभको विशेष किसिमको स्वर गुगलका लागि आकर्षण बनेको छ । गुगलले गुगल म्यापका लागि अमिताभको आवाज फिट हिने दाबी गरेको छ । अमिताभका अनुसार यो विषयमा अहिले नै आधिकारिक सम्झौता भइसकेको छैन । यदी यो प्रस्तावलाई अमिताभले स्वीकारे भने उनले सामाजिक दुरीको नियम पालना गर्दै घरमै स्वर रेकर्डिङ गर्नेछन् । यसका लागि अमिताभले ठूलो राशीको रकम पाउँनेछन् ।
यसअघि गुगल म्यापमा आमिर खानले स्वर भरेका थिए । तर उनको त्यो काम फिल्म प्रमोसनका लागि थियो । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोसनका लागि यशराज फिल्मस्ले गुगल म्यापसँग हात मिलाएको थियो । यो समयमा गुगल म्यापमा आमिर पात्रले आफ्नो गधामा बसेर तपाईंलाई आफ्नो बाटो देखाउछ । गुगल म्यापमा हाल अष्ट्रेलिया मूलका न्यूयोर्क बेस्ड गायक केरन जेकबसनको स्वर सुनिन्छ । उनलाई जीपीएस गर्ल पनि भनिन्छ ।