मुम्बई(एजेन्सी) । सन् २०१५ मा निर्देशक सन्जयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’ रिलिज भएको थियो । रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मलाई दर्शकले निकै मनपराए । यो फिल्म पुनः दर्शकमाझ आउँदैछ । तर यसपटक यो फिल्ममा नभई म्यूजिकल लाइभ शोमा आउन लागेको हो ।
म्यूजिकल लाइभ परफर्मेन्सको क्रिएटिभ निर्देशन कथक गुरु पण्डित वीरजू महाराजले गर्नेछन् । वीरजूले पहिला पनि सन्जय लिला भन्सालीको फिल्महरुको चर्चित गीतमा कोरियोग्राफी गरिसकेका छन् । म्यूजिकल शोमा ‘बाजीराव मस्तानी’ को हिट गीत ‘मल्हारी’सहित सबै सात गीत देखाइनेछ ।
म्यूजिकल शोमा स्टेजमा रणवीर सिंहले निभाएको पेशवा चरित्रमा रजनीश दुग्गल देखिनेछन् । उनीबाहेक दुई प्रख्यात कथक नृत्यकारहरु शैलजा नलवडे र अनुसुआ मजूमदारले पत्नी मस्तानी र काशीबाईको भूमिका निभाउनेछन् । रजनीशका अनुसार स्टेज शोमा कुल १० म्यूजिकल सिक्वेन्स राखिएका छन् । जसमा १२ अभिनेता अभिनेत्री तथा ५० नर्तकी हुनेछन् । रजनीशले म्यूजिकल शोको तयारीका लागि कैयौं पटक फिल्म भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’ हेरेको बताए ।