कलाका कुरामा ठाकुर अनुभव

काठमाडौं । नेपालमा आधुनिक मूर्तिकलालाई अगाडि बढाएका कलाकार ठाकुरप्रसाद मैनालीसँग भर्चुअल संवाद गरिएको छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१ औँ शृंखलामा मैनालीले नेपाली कलाको विकासका लागि राज्यले योगदान दिनुपर्ने धारणा व्यक्त गरे ।

विगत छ दशकदेखि आधुनिक मूर्तिकलाका क्षेत्रमा सक्रिय मूर्तिकार मैनालीले विश्वविद्यालय, प्रतिष्ठान, केन्द्र सरकार, प्रादेशिक सरकारले कलाका क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकास गर्नुपर्ने जिकिर गरे । समाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गरेको सो कार्यक्रममा उनले ललितकला क्षेत्रको संस्थागत विकास गर्दै समृद्ध समाज निर्माणमा कलाकारलाई सहभागी गराउनुपर्नेमा जोड दिए । ‘समृद्ध समाज निर्माणका लागि कला क्षेत्रको यथोचित विकास गर्नुपर्दछ । साथै यसको क्षेत्र फराकिलो पार्दै स्थानीय सरकारसम्म विस्तार गरिनुपर्दछ ।’ उनले भने । उनले विगतमा राज्य तहबाट कलाको महत्वलाई ध्यान दिन नसक्दा संस्थागत विकास हुन लामो समय लागेको धारणा व्यक्त गरे । नेपालमा २०२० सालको दशकअघि कलाक्षेत्रको संस्थागत ंअवस्था निकै कमजोर रहेको बताए । उनले नेपाली कलालाई संस्थागत विकास गर्नुपर्छ भनेर २०२० सालदेखि लागेको सम्झँदै भने, ‘तत्कालीन युवराज वीरेन्द्र अध्यक्ष रहनेगरी २०२२ सालमा नेपाल ललितकला संस्था (नाफा) स्थापना गरिएको थियो । त्यसको मुख्य उद्देश्य भनेकै नेपाली ललितकला क्षेत्रको विकास गर्नु थियो । यो काम गर्न पनि तीन वर्ष लागेको थियो ।’

२०१२ सालमा भारत सराकारद्वारा प्रदान गरिएको कोलोम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा विगत छ दशकदेखि आधुनिक मूर्तिकलाका क्षेत्रमा सक्रिय मूर्तिकार मैनालीसँग बरौदाको एमएस विश्वविद्यालयमा मूर्तिकला पढे । उनले काष्ठकलासँगै आठ वर्ष लगाएर मूर्तिकला विषयको अध्ययन सकेर स्वदेश फर्के । भारतमै अध्ययन गरिरहेका बेला नेपाल आउँदा मैनालीले नेपालमा कलासम्बन्धी शिक्षण संस्था, प्राज्ञिक संस्था लगायतका कुनै पनि संरचना नदेखेपछि सरकारका विभिन्न निकाय तथा दरबारमा अनुरोध गरेको सुनाए । उनले त्यसबेला दरबारले नभनी केही नहुने देखेपछि धेरैपटकको कोशिसपश्चात् दरबारसम्म पहुँच पु¥याएर कलाको विकासका बारेमा जानकारी गराएको सम्झिए ।  तत्कालीन अवस्थामा नाफालाई प्रतिष्ठानकै रुपमा विकास गर्न खोजिएको बताउँदै उनले कलाको विकासका लागि स्थापना भएको संस्थालाई अनेक जालझेल गरी तत्कालीन प्रज्ञा प्रतिष्ठानमा गाँभेपछि यो क्षेत्र निकै पछि परेको धारणा राखे । २०३४ साल जेठ २४ गते नेपाल ललितकला संस्था (नाफा) लाई रोयल नेपाल एकेडेमीमा गाँभिएको थियो ।

सुरुमा साहित्यमा रुचि भएको सुनाउँदै मैनाली २००८÷०९ सालमा सिफलमा हस्तलिखित पत्रिका निकालेको बताए । शुरुमा साहित्य लेखन, सामाजिक सेवा तथा राजनीतिमा सक्रिय रहेका मैनाली भारतको बरोदामा काष्ठकला विषयको छात्रवृत्ति पाएपछि मात्रै कलाक्षेत्रमा प्रवेश गरेको सुनाए । कलामा रुचि भए पनि कलाकार नै बन्छु भन्ने कुनै सोच नभएको बताउँदै उनले भने, ‘मैले निकै मिहिनेत गरेर अध्ययन गरे । मेरो प्रोफेसरले जति काम गरे पनि चित्त नबुझाएपछि मैले मिहिनेत गर्नुको विकल्प थिएन ।’  नेपाली कलाको संस्थागत विकास, आधुनिक मूर्तिकला तथा वातावरणीय÷स्मारकीय कलाको विकासमा मैनालीले महत्वपूर्ण योगदान दिएका छन् । नेपालमा मूर्तिकलालाई सरकारी भवनमा राख्न अभिप्रेरित गर्ने व्यक्तित्वको रूपमा समेत उनलाई चिनिन्छ । स्मारकीय (मोनुमेन्टल)÷वातावरणीय कला तथा पार्कमा मूर्तिकला निर्माण गर्ने श्रेय पनि मैनालीलाई नै जान्छ ।

उनले काठमाडौंको रामशाहपथस्थित कृषि विकास बैकको केन्द्रीय कार्यालय परिसर र त्यस भवनको भित्तामा कृषि विषयका विभिन्न मूर्ति स्थापित गरेका छन् । त्यस्तै, भृकुटीमण्डपमा रहेको ‘निर्माण’ शीर्षकको ३५ फिट अग्लो मूर्ति लगायत दर्जनौँ मूर्ति देशका विभिन्न स्थानमा उनले बनाएका मूर्ति प्रतिस्थापित छन् । वातावरणीय प्रभाव अनुकूल हुने गरी मैनालीले बनाएका मूर्तिको नेपाल तथा विदेशमा निकै चर्चित छन् । उनले बनाएका मूर्ति नेपालका साथै बेलायत, अमेरिका, भारत, जर्मनी, क्यानडा, चीन, रूस, जापान, बंगलादेश, युरोप लगायतका देशमा पुगिसकेको छन् ।