नाच फिरिरीमा ६ करोड बढी दर्शक

काठमाडौं । गायक महेश काफ्लेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘नाच फिरिरी’ले ६ करोड बढी दर्शक पाएको छ । असार–साउनको महिनामा सिन्धुलीस्थित घरको झ्यालमा बसेर महेशले लेखेको यो गीत टिकटकमा पनि निकै चलेको गीत हो । गीतको बीचमा गायिका मेलिना राईले गाएको ‘आँखा ती दुई आँखा तिम्रै लागि हो मेरो यो भाका’ महिला सेलिब्रिटीसँगै सर्वसाधारणले ‘म्युजिकल्ली’मा निकै प्रयोग गरेका थिए ।

यो गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, क्रिस्टल क्लज डान्स क्रिउ र प्रकाश घिमिरे फिचर्ड छन् । भिडियोमा शिवराम श्रेष्ठ र सोराज श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन र निश्चल बस्नेतको निर्देशन छ । भिडियोलाई जी२१ डिजिटलले उत्पादन गरेको हो ।

घरमा बुवा भोजराज काफ्ले र दाजु दिनेश काफ्ले पनि गायक भएकाले महेशले बाल्यकालदेखि नै गायन पेशालाई अंगालेका थिए । उनले बाल्यकालमै ‘सानीमा मारिदेऊ बरु’, ‘सौताको छोरो’, ‘जुवातास’जस्ता चलेका गीतसहित झण्डै आठ वटा गीत गाए ।

महेशले फिल्म ‘धर्तीपूत्र’मा बाल कलाकारका रुपमा अभिनयसमेत गरेका छन् । उनका दाजु दिनेशले गाएको ‘आमा रातो किन नलाएको’को गीत एकताका सर्वाधिक चलेको गीत थियो ।