जहाँ लोकप्रिय छ छुरा मसाज

ताइपेइ(एजेन्सी) । सामान्यतयाः छुरीको प्रयोग मासु, फल, तरकारीलगायत काट्नलाई हुन्छ । तर के तपाईंले कहिल्यै सुन्नु भएको छ छुरीले मसाज पनि गर्न सकिन्छ ? सुन्दा केही अनौठो लाग्ला । तर यो सत्य कुरा हो । पूर्वी एसियाली देश ताइवानको मसाज पार्लरमा छुराको माध्यमबाट ठूलो संख्यामा मानिसहरुको मसाज गरिन्छ । यसलाई स्थानीय भाषामा ‘डाउलियाओ’ भनिन्छ । जसको अर्थ चिनियाँ भाषामा ‘छुराबाट मसाज’ वा ‘नाइफ थेरापी’ हुन्छ । चिनियाँ औषधि विज्ञानमा यसको चलन निकै बढी छ ।

यहाँ छुराबाट मसाज गर्ने चलन करिब २ हजार वर्षदेखि शुरु भएको हो । यसको शुरुवात बौद्ध भिक्षुहरुले गरेका थिए । करीब एक हजार वर्ष पहिले तांग वंशको समयमा यो थेरापी जापानमा निकै लोकप्रिय भएको थियो । सन् १९४० को दशकमा चीनको गृहयुद्धको समयमा छुरा मसाजको यो परम्परा ताइवान पुगेको थियो । जबकी हाल चीन र जापानमा यो थेरापीको चलन करिब करिब सकिएको छ ।

तर ताइवानमा यो अहिले पनि लोकप्रिय छ । ताइवानको राजधानी ताइपेईमा यो थेरापी सिकाउनका लागि एक शैक्षिक केन्द्र पनि खोलिएको छ । जसको नाम द एनशिएन्ट आर्टअफ नाइफ मसाज डाओलियाओ आई–जिङ एजुकेशनल सेन्टर रहेको छ । पुरा ताइवानमा यो एजुकेसन सेन्टरको करिब ३६ शाखा छन् । यीमध्ये १५ वटा पछिल्लो पाँच वर्षमा नै खोलिएका हुन् । यहाँ विश्वभरीका मानिसहरुलाई छुरा मसाजको कला सिकाइन्छ ।

यहाँ छुरा थेरापी सिक्नका लागि फ्रान्स, क्यानाडा, हङकङ र जापानबाट मानिसहरु आउने गर्दछन् । हालका दिनमा यो थेरापीको सेवा लिनेहरुको संख्या उल्लेख्य बढेको छ । आज मानिसहरु छुरा मसाजको प्रयोग चोट निको पार्न, निन्द्रा लगाउन र शरीरको पुरानो दुखाई कम गर्न बढी प्रयोग गर्दछन् । चिनियाँ औषधि विज्ञानमा जुन प्रकारले एक्यूप्रेशर थेरापीको प्रयोग गरिन्छ, त्यसरी नै छुरा थेरापीमा प्रेसर प्वाइन्टलाई लक्षित गरिन्छ । यसलाई क्यूआई–डोस भनिन्छ ।

ताइवानको यस्तो एक मसाज सेन्टरकी निर्देशक हसिआओ मेई–फेङले १५ वर्षदेखि नै छुरा मसाजको दुनियाँमा पाइला चालेकी हुन् । यसअघि उनी ब्यूटी ट्रिटमेन्ट र मेरेडियन मसाज गर्थिन् । मेरेडियन मसाज पनि एक पारम्परिक चिनियाँ औषधि विज्ञानमा पर्ने मसाज हो । ‘सारा दिन मानिसको मेरेडियन मसाज गर्दा निकै थकित हुन्थें । मसाजको बेला निस्कने नकारात्मक शक्तिले मलाई ठूलो असर गथ्र्यो । तर जब मैले छुरा थेरापी सुरु गरें, त्यो दिनदेखि म खुशी छु’, उनले भनेकी छन् ।

छुरा थेरापीमा केही नियम पालन गर्नुपर्छ । उदाहरणका लागि यदी मसाज गर्ने मानिस राम्रो मुडमा छैन भने उसलाई छुरा मसाज दिनुहुँदैन । यस्तो मानिसलाई छुरा मसाज गर्दा मसाज गराउनेको खराब उर्जा मसाज गर्नेकोमा पर्न आउछ । छुराबाट मसाज गर्ने व्यक्ति जहिल्यै पनि सकारात्मक शक्तिका साथ काम गर्नुपर्छ । त्यसकारण उनीहरुले शुद्ध शाकाहारी भोजन खानुपर्छ । मेई फेङका अनुसार मसाजका ग्राहक आफ्ना बच्चासहित केन्द्रमा आउँछन् । ती बच्चाहरु पार्लरका लकडीको डण्डीसँग खेल्छन् र स्कूलको तनाव दुर गर्छन् ।