सुशान्तको दिल बेचाराप्रति फ्यान दुःखी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा छन् । तर यो निर्णयले उनका केही फ्यान खुशी छैनन् । उनीहरुले यो फिल्मलाई थिएटरमा रिलिजको माग गरेका छन् । यो फिल्म डिज्नी हटस्टारमा २४ जुलाईमा रिलिज हुँदैछ ।

सुशान्तका साथी विकास गुप्ताले सुशान्तका फ्यानको मागको समर्थन गरेका छन् र फिल्म निर्मातालाई सुशान्तको फिल्मलाई हलमा रिलिज गराउने कुरामा विचार गर्न आग्रह गरेका छन् । ‘भारत ‘दिल बेचारा’लाई ७० एमएमको पर्दामा हेर्न चाहन्छ । फक्सस्टार हिन्दीसँग मेरो आग्रह छ कि जुन समयमा थिएटर खुल्छन्, त्यो समयमा फिल्म रिलिज गर्नुहोला’, विकासले ट्वीट गरेका छन् ।

‘दिल बेचारा’ एक हलिउड फिल्मको रिमेक हो । फिल्ममा सुशान्तका अलावा संजना सांघीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । डिज्नी हटस्टारले रिलिजको बारेमा ट्वीट गर्दै यो फिल्म सुशांत सिंह राजपूतको विरासतको उत्सव हुने बताएको छ । यसैबीच अभिनेता राजकुमार रावले सुशान्तको फिल्म ‘दिल बेचारा’लाई प्रोमोट गर्ने बताएका छन् । उनले आफ्नो इन्स्टाग्राममा सुशान्तको फिल्मको पोस्टर शेयर गरेका छन् । राजकुमारले सुशान्तसँग फिल्म ‘काय पो छे’ र ‘राब्ता’मा अभिनय गरेका थिए ।

तर सामाजिक सन्जालमा केही व्यक्तिहरु फिल्मको ओटीटी रिलिजबाट खुशी छैनन् । ‘हामी चाहन्छौं कि यो फिल्म ठूलो पर्दामा रिलिज होस् ।’शिवम राणावतले इन्स्टाग्राममा लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘यी सेलिब्रेटी सामाजिक सन्जालमा दिल बेचारा उनको अन्तिम फिल्म थियो भनेर किन लेखिरहेका छन् । बलिउड माफियाको विरुद्ध जाने हिम्मत जुटाउन सकेका छैनन् भने किन झुटो सहानुभूति देखाइरहेका छन्’ भन्दै लेखेका छन् ।

अभिनेता सुशान्त गत जून १४ मा आफ्नो वान्द्रास्थित आवासमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले उनको मृत्यु आत्महत्याका कारण भएको बताएको छ । तर आत्महत्याको कारणबारे केही खुलेको छैन । उनी विगत ६ महिनादेखि डिप्रेसनमा रहेको जनाइएको छ ।